नेशनल प्याब्सन विवाद- न्यौपाने भन्नुहुन्छ : भोलिबाट म अध्यक्ष, अध्यक्ष सहअध्यक्षको कुर्सीमा



काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) भित्र अध्यक्षको पद हस्तान्तरणको विषयलाई लिएर विवाद भएको छ ।

भोलि (शनिबार) अध्यक्ष बने तयारीमा रहनुभएका सहअध्यक्ष सुवास न्यौपाने र अध्यक्ष पाण्डव हमाल ठकुरीबीको विवाद चरम उत्कर्षमा पुगेको छ । न्यौपानेलाई अध्यक्ष बनाउने भद्र सहमति भएको थियो । हमालले आगामी फागुनसम्म अध्यक्ष पद नछाड्ने अडान लिएपछि विवाद बढेको हो ।

२०७८ साल फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पाण्डव हमाल ठकुरी र सुवास न्यौपानेलाई आलोपालो नेतृत्व दिने सहमति भएको थियो । पहिलो डेढ वर्षमा ठकुरीले र त्यसपछिको डेढ वर्षमा न्यौपानेले अध्यक्षको पद सम्हाल्ने सहमति भएको थियो ।

सहमति अनुसार वर्तमान अध्यक्ष ठकुरीले पद हस्तान्तरण गर्न नमानेको भन्दै न्यौपाने पक्षधरले भोलि राजधानीमा पदस्थापना कार्यक्रम घोषणा गरेका छन् । सो कार्यक्रममा हमाल पक्षधर सहभागि नहुने भएका छन् । अध्यक्ष हमालले एक कार्यकाल अध्यक्ष हुनुर्ने अडान दोहो¥याउनु भएको छ ।

महाअधिवेशनमा भएको सहमति कार्यान्वयन गर्न नसकिने विषयमा शुरूमै किन जानकारी गराउन सक्नुभएन ? भन्ने प्रश्नमा अध्यक्ष हमालले भन्नुभयो– ‘निर्वाचन कमिटिले एक कार्यकाल उल्लेख गरेर पत्र दिएको कारण प्रष्टीकरण दिइरहन आवश्यक छैन ।’

यो घटनापछि राष्ट्रिय प्याब्सनभित्र विवाद र आन्तरिक द्वन्द्व सतहमा आएको छ । पछिल्लो घटनाक्रमपछि राष्ट्रिय प्याब्सनको दुई पक्षले एकले अर्कोलाई हटाइदिने क्रम पनि बढेको छ । दुई पक्षबीचको द्धन्दको कारण अन्य सदस्य र पदाधिकारीलाई संगठन फुट्ने हो कि भन्ने तनावमा छन् ।

भोलिबाट अध्यक्षको पदभार ग्रहण गर्न लाग्नुभएका न्यौपानेले महाधिवेशनमार्फत जनादेशबाट गठन भएको पूर्वअध्यक्ष गीता राणाको संयोजकत्वमा भदौ ८ गते बसेको संयोजन समितिको बैठकले न्यौपानेलाई अध्यक्ष बनाउने र हमाललाई सहअध्यक्ष बनाउने निर्णय गरेको थियो ।

बैठकमा पूर्वअध्यक्ष राणा र ऋतुराज सापकोटा, दुर्गाप्रसाद जोशी, अर्जुनबहादुर अधिकारी र प्रवेशकुमार पाण्डे सदस्य रहनुभएको थियो । बैठकमा हमालले फोन मार्फत सहभागिता जनाउनुभएको थियो ।

हमाल पक्षले महाधिवेशन बाहेक संयोजन समितिले गरेको सो निर्णय नमान्ने जिकीर गरेको छ । हमालले नियमसंगत आफु पुर्ण कार्यकाल अध्यक्ष भएको प्रस्ट पार्नुभयो । एक कार्याकाल पालैपालो अध्यक्ष हुने विषयमा निर्णय भएको माइन्युट गायब भएको छ । अध्यक्ष हमालले त्यसबेला आफु बाहिर रहेकोले जानकारी नभएको बताउनुभयो ।

माइन्युटको विषयमा जानकारी लिन महासचिव पारस दाहाललाई पटकपटक सम्पर्क गर्दा मोबाइल उठाउनुभएन । अध्यक्ष हमालले सो विषयमा सहअध्यक्ष न्यौपानेलाई जानकारी होला नि ? भन्नुभयो । महासचिव दाहाल हमालको पक्षमा रहेको न्यौपाने पक्षको जिकीर छ ।

राष्ट्रिय प्याब्सनका अध्यक्ष ठकुरीले गतवर्ष रारामा सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकमा आगामी फागुनमा पद हस्तान्तरण गर्ने निर्णय भएको बताउँदै भन्नुभयो– ‘विगतमा पनि विशेष परिस्थितिका कारण कार्यसमितिको पदावधि लम्बिएकै थियो ।’

नेपालगञ्जमा सम्पन्न पाचौँ बैठकको निर्णयअनुसार कार्यसमिति अघि बढ्ने हमालको भनाइ छ । सो बैठकमा राराको निर्णय अक्षरशः पालना गर्ने पनि कुरा उठेको अध्यक्ष ठकुरीले दावी गरे ।

अध्यक्ष हमालले विधि प्रक्रियाअनुसार अनुसार चले आफू छाड्न तयार रहेको बताउनुभयो । भन्नुभयो– ‘भोलीको पदस्थापन कार्यक्रममा केन्द्रीय समितिका कोहीपनि सहभागि हुँदैनन् ।’

न्यौपाने पक्षले बहुमत पदाधिकारीको उपस्थितिमा पदबहाली गर्ने दाबी गरेको छ । न्यौपानेले भन्नुभयो– ‘निर्णय भइसकेको छ, भोलि भब्य समारोह गरेर अध्यक्ष हुनेछु ।’ त्यसको लागि देशैभरका पदाधिकारी रप्रतिनिधि काठमाडौं आउनेक्रममा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्