भष्मे डनको माग विदेशमा पनि



सुपरहिट सामाजिक फिल्म पशुपतिप्रसादको सफलतापछि निर्माता निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको त्यसको सिक्वेल फिल्म पशुपति प्रसाद २ : भष्मे डनको विश्वव्यापी माग देखिएको छ।

आगामी कार्तिक ४ गते नेपालसँगै विश्वका विभिन्न देशबाट एकसाथ रिलिजमा आउने फिल्मका लागि रिलिजभन्दा एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ।

अस्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशका लागि फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको हो। फिल्म मेलर्बनको चाइना टाउनमा अक्टोबर २३ तारिखमा प्रिमियर हुँदैछ। फिल्मको २५ र ३० अक्टोबर तथा ५ नोभेम्बरका लागिसमेत अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

त्यस्तै, जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको छ।

युरोपको बेल्जियम लगायतका देशमा पनि फिल्मले आक्रामक सुरुवात गर्ने सम्भावना देखाएको छ। अक्टोबर २१ बाट नै बेल्जियमका पाँच शहरमा शो शुरु हुने भएको छ। अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ।

ओभरसिज वितरकले फिल्म चाँडै नै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इस्टलगायतका क्षेत्रमा पनि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भइरहेको जानकारी गराएका छन्।

विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहाललगायतले अभिनय गरेको फिल्ममा खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी विशेष भूमिकामा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्