इन्द्रजात्रामा नारी



 सुनिता महर्जन

इन्द्रजात्रामा जहाँ कुमारीको रथयात्रा लाई महत्वपूर्ण स्थान दिएको पाइन्छ । राजसंस्था हुँदा होस् वा राष्ट्रको उच्चपदका सदस्यहरूले कुमारीलाई सम्मान गरी ढोग गर्ने र कुमारीको हातबाट टिका थाप्ने चलन अहिलेसम्म हेर्न सकिन्छ । कुमारीलाई जीवित देवता भएकै कारण मात्र यस्तो सम्मान मिलेको भने पक्कै होइन ।

एक समयकुमारी प्रेममा पर्छ इन्द्रजात्राकाअनुसार कुमारीको प्रेमिको रूपमा लाखेलाई लिएको छ । राज्यमा लाखेले दुःखदिई राज्य नै धरापमा पर्ने स्थिति पर्न जान्छ । राजा र रानीले कुमारीलाई आफ्नै प्रेमीविरुद्ध षड्यन्त्रकारी लडाइँ लड्न आदेश दिन्छ । जसले गर्दा कुमारीले आफ्नै प्रेमीलाई प्रेममा परेको नाटक गर्दै अन्तमा आफ्नै हातले वध गरिदिन्छ र राज्यले जित हासिल गर्छ ।

कुमारीले आफ्नो जनता र राज्यको हितको लागि प्रेमीलाई नै वध गरेको र आफू बिहे नै नगरी कुमारी भएर नै जीवन बिताएको योगदानको कदर गर्न र अरूलाई उदाहरण दिनका लागि यो रथ जात्रा गरिएको भन्ने किंवदन्ती पाइन्छ । यस्तै, उदाहरण यस जात्राभरिमा अरू पनि पाइन्छ जस्तै देवीदैत्य नाच (दीप्याखं) मा पनि कुमारीको दैत्यसँगको प्रेम र पछि लडाइँ अनि दैत्यको वध हेर्न सकिन्छ । त्यस्तै, हल्चोक भैरवमा पनि कुमारीलाई नृत्य गरेको अवस्थामा देख्न सकिन्छ । त्यसै गरी भक्तपुरबाट इन्द्रजात्रामा नचाउन ल्याउने महाकाली नाचमा पनि कुमारी र दैत्य प्रेम लिलादेखि लडाइँ र वध देख्न सकिन्छ ।

अर्को नारी देवताको कुरा गर्ने हो भने इन्द्रजात्राको दिन अन्तिम निकालिने देवता डाँगी (इन्द्रकीआमा)को यात्रा पनि देख्न सकिन्छ ।डाँगीले नेपालका विभिन्न ठाउँमा आफ्ना पितृहरू दिवंगत भएका परिवारका सदस्यहरूलाई आफ्ना पितृको रक्षार्थ सहयोगस्वरूप आफूसित परिक्रमा गर्न लगाउने गरिन्छ । साथै त्यसको भोलिपल्ट डाँगीको साथमा स्वर्गमा आफ्ना पितृहरू भेट्नको लागि इन्द्रदहसम्म जाने पनि चलन छ । तर, प्रकृतिको नियमलाई देवताहरूले पनि छेक्न नसक्ने भएकाले तुवालोको सहायताले सबैलाई पृथ्वीमा नै छोडी आफू मात्र स्वर्ग जान्छ भन्ने किंवन्दती पनि हामीमाझ आजसम्म पनि जीवित नै छ ।

यसरी यस जात्रामा नारीले पनि राष्ट्रका लागि केही गर्न सक्छ भन्ने उदाहरण देखाउन परापूर्व कालदेखि कुमारीको रथ तान्ने चलन यद्यपि छँदैछ । तर, विडम्बनाको कुरा भनौं वा नारीलाई शक्तिको रूपमा प्रर्दशन गराउन हो इन्द्रजात्राको अन्तिम दिन नानिचा या –मल्लकालमा आफ्नी प्यारी कान्छी रानी जो दरबारमा भित्र्याउन नहुने र किलागलमा राखिएको रहेछ । जात्रा सबैले हेर्न पाउने भएकोले आफूले पनि हेर्न पाउनुपर्छ भनी राजालाई जिद्दी गर्दा त्यहाँबाट पनि जात्रा चलाएको इतिहास छ ।

पहिला रानीलाई नानि भन्ने चलन रहेको र नानिले हेर्ने जात्रा भएकोले नानिचायाःभन्ने गरेको जनविश्वास रहेको छ । जात्राको दिन महिलाले रथ तान्ने परम्परा वि.सं २०७१ सालमा ज्यापु महागुथि येँ महानगर समितिका अध्यक्ष र इन्दं्रजात्रा व्यवस्थापन समिति संरक्षक मोहनकृष्ण डंगोलको अगुवाइमा शुरू भएको हो । पहिलो चोटि महिलाले रथ तान्ने चारैतिर हल्ला फैलिएपछि त्यो साल इन्द्रजात्रामा सरिक हुने धेरै भक्तजनहरू थिए ।

अहिले यो महिलाले रथ तान्ने कुरा भने पुरुषको बराबरीमा शक्ति प्रदर्शन गर्ने होडजस्तो मात्र देखिएको छ । महिलाले रथ तान्न सक्छ कि सक्दैन भन्ने कुराको जिकिर हुने हो भने ललितपुरमा महिनाैं दिनसम्म मनाउने रातो मछिन्द्रनाथको जात्रामा एक बिहान ‘मिसाभुज्या’ भनी खालि महिलाले मात्र तान्ने पनि परम्परा रहेको छ ।

यसै जात्रामा महिलाहरूको लागि भनि एकदिन ‘हाथाहायेकेगु’ जाँड रक्सी प्रसादस्वरूप वितरण पनि गरिन्छ । शुरूका दिनमा त महिलाहरूले भद्र रूपमा सहभागी भएका थिए भने अहिले महिलाहरू पनि उत्तेजित हुने र हुलदंगाको फाइदा उठाई झैझगडा गर्ने प्रवृत्तिले विकराल रूप लिएको पाइन्छ । महिलाहरू यसरी संस्कृतिमा रम्ने प्रवृति झाँगिदै गइरहँदा महिलाको मूल रूपमा आइरहेको समस्याबाट भने महिलाहरूले ध्यान दिन नसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्