घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

188
Shares

काठमाडौं । घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७५-७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपियाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६-७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको छ ।

गलत तथ्य पेस गरेर आर्थिक वर्ष २०७६-७७, आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७८-७९ मा नाफामा देखाइएको छ । कम्पनीले तीन वर्षको ८० करोड रुपियाँ ब्याजलाई पुँजीकरण गरेर नाफामा गएको देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

धितोपत्र नियमावलीअनुसार आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था छ । लगातार ३ आर्थिक वर्षदेखि कम्पनी नाफामा रहेको देखाउनका निम्ति कम्पनीले ब्याजलाई पुँजीकरण गरेको हो । तर, कम्पनीको वास्तविकता भने नोक्सानमा रहेको छ । कम्पनीको वित्तीय विवरणमा नाफामा रहेको देखाइए पनि पछिल्लो तीनवर्षदेखि कम्पनीका लगानीकर्ताले भने नाफा बुझ्न पाएका छैनन् । कम्पनीले गलत तथ्य पेस गरेर सर्वसाधारणलबाट रकम संकलन गर्ने प्रयास कम्पनीको रहेको छ ।

कम्पनीले आव २०७६-७७ मा २० करोड ४१ लाख ८० हजार रुपियाँ ब्याज पुँजीकरण गरेर १९ करोड ९ लाख ९१ हजार रुपियाँ नाफामा देखाइएको छ । त्यस्तै, आव २०७७-७८ मा २२ करोड ९० लाख ४९ हजार रुपियाँ ब्याज पुँजीकरण गरी २९ करोड ७७ लाख ५७ हजार र आव २०७८-७९ मा ३३ करोड ९३ लाख ६७ हजार रुपियाँ ब्याज पुँजीकरणपछि ११ करोड ९३ लाख ४९ हजार र आव २०७९-८०मा ४९ करोड ३७ लाख ३८ हजार ब्याज पुँजीकरण गरी १४ करोड ३९ लाख ६५ हजार रुपियाँ नाफामा देखाइएको छ ।

यसअघि उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बहिष्कार गरेको १४ लाख ४६ हजार ४९५ कित्ता थप गरी सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गतेदेखि सर्वसाधारणका निम्ति ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । सय रुपियाँ अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम मूल्य थपेर सेयर बिक्री गर्ने तयारी भएको हो ।

उक्त रकमले कम्पनीले विभिन्न ९ वटा बैंकको ऋण तिर्ने योजना बनाएको कम्पनीद्वारा जारी विवरणमा उल्लेख छ । कम्पनीको आव २०७८-७९ मा कम्पनीको दीर्घकालीन ऋण ३ अर्ब ७० करोड १४ लाख ७४ हजार र अल्पकालीन ऋण १ अर्ब ७९ करोड ९१ लाख २४ हजार रुपियाँ रहेको दाबी छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी प्रतिकित्ता ७ रुपियाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपियाँ ८१ पैसा रहेको छ । त्यस्तै, कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन ट्रीपल बी माइनस इस्युआर’ रेटिङ दिएको छ । यसको अर्थ कम्पनीसँग दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीमा लगानी गर्नु जोखिम रहेको संकेत सँगै शंकास्पद वित्तीय विवरण र कम्पनी आफैंमा विभिन्न काण्डमा मुछिएकाले सर्वसाधारण लगानी गर्न हच्किएका छन् । त्यसबाहेक ७५ करोड रुपियाँ विद्युत् महसुल बक्यौता रहेको छ । त्यस्तै, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेर राजस्व छली तथा भ्रष्टाचारसम्बन्धी कम्पनीका सञ्चालकमाथि मुद्दा रहेको छ ।

त्यस्तै, रोल्पाको रुन्टीगढीमा खानी विभागका कर्मचारीसँगको मिलेमतोमा अनुमति लिएको भन्दा बढी चुनढुंगा उत्खनन् गरेको भेटिएपछि ६ करोड ९९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ महिनामा उद्योगका प्रबन्ध निर्देशक निपेश तायलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसबारेमा नेपाल समाचारपत्रले कम्पनीका प्रबन्ध निर्देशक निपेश तायलसँग कयौंपटक सम्पर्क गर्ने प्रयास गरे पनि सम्र्पक हुन सकेन ।

याे पनि

सोनापुर सिमेन्टको ‘बहिष्कृत आईपीओ’ अब सर्वसाधारणलाई

सोनापुरको १ करोड ११ लाख कित्ता शेयर बिक्री गर्न मुस्किल

सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार, साढे १५ लाख कित्तामध्ये ७ हजार मात्रै बिक्री

सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार, सर्वसाधारणको टाउकोमा थोपरिँदै