प्रेमिकाको हत्या गरेर विदेश भागेका मिझार ६ वर्षपछि पक्राउ



धादिङ ।

आफ्नो प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षीय अरुण कुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका वडा नम्बर ८ काचनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ५ की ३२ वर्षीया ललिता कुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ६ वर्षपछि पक्राउ गरिएको हो । ‘ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौँ आएको परिवारले जानकारी दिएका छन् ।

धादिङको धुनीवेशी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरी खोलामा २०७४ असोज १२ गते साँझ बेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो । उनले लगाएको कपडा चप्पल हेरी उनका भाइले मृतक ललितालाई पहिचान गरेको हो ।’ प्रहरी उपरीक्षक मिश्रले भने– ‘मृतक ललिता पेशाले स्टाफ नर्स थिइन् । मृतकको मोबाइल तथा प्राविधिक अनुसन्धान पछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुविचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरुविच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो ।’

कानुनबाट बच्न मिझारले देशै छाडेर मलेसिया, दुबई, भारत लगायतका मुलुकहरूमा लुकिछिपी बस्दै आएका थिए । हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो । अहिले आरोपितलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्