दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ।

दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर नगरपालिका घर भइ हाल काठमाडौँको नागार्जुन बस्दै आएका ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नागार्जुनको पानीट्याङ्कीबाट आइतबार पक्राउ गरेको हो । उनले सूर्यबहादुर कार्कीलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु, त्यसको लागि २ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ सेक्युरिटी गार्डमा काम गरेबापत मासिक पचार हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी पीडितबाट पटकपटक गरी एक लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

उनले पीडितलाई ठगी गरेको भन्दै पक्राउ गरिदिन वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्