मलंगवाको असर : वीरगन्जमा ‘सद्भाव रयाली’ निकालियो 



वीरगन्ज । 

मधेश प्रदेशको सर्लाहीको मलंगवामा देखिएको धार्मिक विवाद वीरगन्जमा पनि  केहिदिन यता देखि दुई फरक धर्मका समुदायबिच तनाव बढ्दै गएपछि सोमबार‘सद्भाव ¥याली’ निकालिएको छ ।  मलंगवामा गत बिहीबार गणेश चर्तुथीको मूर्ति सेलाउने क्रममा दुई समुदायबिच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमा पनि तीनदिन यतादेखि तनाव भइरहेको छ ।

उक्त घटनाको विरोधमा गत शनिबार हिन्दुवादीहरूले वीरगन्ज बजार बन्द गराउनुका साथै  प्रदर्शन पनि गरेका थिए । यसैलाई मध्यनजर गरी वीरगन्जमा सोमबार वीरगन्ज महानगरपालिकाको अगुवाइमा ‘सद्भाव रयाली’ निकालिएको हो । आदर्शनगरस्थित स्वीमिङ पुल परिसरबाट सुरू भएको ‘सद्भाव रयाली’ पशुपति घोष चोक ,आदर्शनगर चोक , घडीअर्वा , माईस्थान चोक , घण्टाघर चोक हुँदै नगर परिक्रमा गरेको थियो ।

‘सद्भाव रयाली’ मा प्रतिनिधिसभा सदस्य प्रदीप यादव ,वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,उपमेयर इम्तियाज आलम ,राजनीतिक दलका नेता,महानगरपालिकाका कर्मचारी ,शिक्षक–शिक्षिका ,नागरिक समाजका अगुवा,मानवअधिकारकर्मी ,सञ्चारकर्मीलगायतको सहभागीता थियो । ‘सद्भाव रयाली’ मा सहभागीले ‘ धार्मिक सद्भाव कायम गरौं ’ सामुदायिक सदभाव कायम राखौं,हिन्दू–मुस्लिम भाइ भाइ’लगायतका नारापनि लगाएका थिए ।

नगर परिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सहायक प्रजिअ शीव प्रसाद लम्साललाई ज्ञापनपत्र बुझाउँदै वीरगन्जमा धार्मिक उन्माद बढाउने,सदभाव विगार्ने तथा शान्ति सुरक्षामा खलल पुग्ने गरी जनजीवन प्रभावित पारी अशान्ति मच्चाउने व्यक्ति तथा समूह सक्रिय रहेकाले त्यस्ता उच्छृङखल गतिविधिमाथि संलग्न जुनसुकै धर्मको जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन माग  गरे ।

‘वीरगन्जमा सदियौंदेखि हिन्दु र मुस्लीमबीच आपसी सद्भाव र भाइचारा रहिआएकोमा केही  समयदेखि दुवै समुदायका चाडपर्व, सभा, जुलुस तथा जात्रामा दुवै धर्मावलम्बीका केही  सिमित व्यक्तिबाट आपसी सद्भाव र भाइचारा बिथोल्ने गरी धार्मिक सहिष्णुता विरुद्द अवाञ्छित गतिविधि गर्ने क्रम बढ्दै गएको,समाजमा रहेको अमनचयन र शान्ति भङ्ग गर्न क्रियाशिल त्यस्ता उच्छृङखल व्यक्तिले सामाजिक संजालको दुरुपयोग गरी समाजलाई भड्काउने,विभाजित गर्ने र कुनै धर्म तथा समुदायलाई उक्साउने र धार्मिक द्वन्द्व बढाउने खालका श्रव्य दृष्य सामग्री समेत पोष्ट गरिरहेकोले त्यस्ता व्यक्ति तथा समूहविरुौ साइबर अपराध तथा कडा कानुनी कारबाहीको लागि माग गर्दछौं ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

सहायक प्रजिअ लम्साललाई ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा एमाले पर्साका संयोजक डाक्टर विस्वमभर  शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाइएको छ ।

यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा पनि वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पु¥याउने खालका धार्मिक एवं सामुदायिक प्रकारका ¥याली ,जुलुश ,प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्