सिल लगाएको सिलिन्डर नै खाली भेटिएपछि ग्यास उद्योगलाई जरिवाना



विराटनगर।

सिल लगाएको सिलिन्डर खाली भेटिएपछि कोसी ग्यास उद्योग कारबाहीमा परेको छ । आइतबार विराटनगरस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले उद्योगलाई दुई लाख जरिवाना गराएको हो ।

विराटनगर–९ ट्राफिक चोककी अञ्जना सिंहले खरिद गरेको सिल लगाएको सिलिन्डर खाली भेटिएको थियो । उनले यसबारे वाणिज्य कार्यालयलाई जानकारी गराएकी थिइन् ।

सिल लगाएको सिलिन्डरमा १४ केजी २०० ग्राम ग्यास हुन्छ । तर, सिंहले घर लगेको ग्यासको सिलिन्डर खाली थियो । सिंहले भनिन्, “कोसी ग्यासको न्यू हिमाल डिलरका प्रतिनिधिसँग खरिद गरेकी थिएँ, सिलिन्डरमा त ग्यास नै रहेन छ ।”

उपभोक्ताबाट गुनासोसहितको जानकारी आएपछि ग्यास उद्योगलाई जरिवाना गरिएको वाणिज्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख हितेश बस्नेतले भने, “सिल गरेको सिलिन्डर खाली हुनु गम्भीर गल्ती हो ।”

उपभोक्ता संरक्षण ऐनअनुसार कोसी ग्यास उद्योगलाई जरिवाना गराएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्