प्रधानमन्त्री प्रचण्ड बेइजिङमा



प्रधानमन्त्री प्रचण्ड शनिबार हाङजाउ पुग्दाको दृश्य । तस्बिर : रमेश मल्लको ट्विटरबाट ।

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । उनी शनिबार हाङजाउ आइपुगेका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयानुसार बिहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी–व्यवसायीको संस्था सीसीपीआईटीले सम्मेलनको आयोजना गरेका हुन् ।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन् । -रासस

प्रतिक्रिया दिनुहोस्