विश्वविद्यालय बन्दै मकवानपुर क्याम्पस



 हेटौंडा । 

हेटौंडा उपमहानगरपालिका–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई वागमती प्रदेश विश्वविद्यालय बनाउने विषयमा छलफल भएको छ । प्रदेश सरकारले खास स्थापना गर्ने ‘थिंक ट्यांक’ विश्वविद्यालय, विकास भएका कलेजलाई नै विश्वविद्यालय बनाउने, कुनै खास क्षेत्रको सामुदायिक क्याम्पस वा आंगिक क्याम्पसलाई विश्वविद्यालय बनाउन सकिने एक अध्ययन प्रतिवेदनमा जनाइएको थियो ।

मकवानपुर क्याम्पसप्रति सरकार पनि सकारात्मक देखिएको छ । विश्वविद्यालय बनाउनका लागि सामाजिक विकास मन्त्रालयमा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकमा सहमति जुटेको थियो । बैठकमा वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा बनेकै संरचनामा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न लागिएको बताउनुभयो ।

तुरुन्त जग्गा व्यवस्थापन गरेर उक्त कार्य अघि बढाइने उहाँको कथन छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारबाट स्थापना हुने प्रदेश विश्वविद्यालय, प्रदेश सरकारको स्वीकृतिबमोजिम मुनाफा आर्जन नगर्ने सामुदायिक विश्वविद्यालय, शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान, उच्च शिक्षण संस्था र आंगिक क्याम्पसलाई स्वायत्तता दिने बताउनुभएको छ । त्यस्तै, क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलले क्याम्पस विश्वविद्यालयको जिम्मेवारी बहन गर्न तयार रहेको दाबी गर्नुभयो । उहाँले ६ जना पीएचडी प्राध्यापकसहित क्याम्पसले अध्यापन गराउँदै आएको बताउनुभएको छ । प्रदेशमा सम्भावित जलविद्युत्, जडीबुटी, पर्यटनलगायत क्षेत्रको पहिचान गरेर दक्ष जनशक्ति तयार पार्ने क्याम्पसको लक्ष्य रहेको पौडेल बताउनुहुन्छ ।

वागमती प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापनाबारे अध्ययन गरेको थियो । वागमतीका १३ जिल्लाको भूगोल, राजस्व आम्दानी, पढाइमा भएका खर्च, पढाइ हुनसक्ने पाठ्यक्रमलगायतमा जिल्लैपिच्छे अध्ययन गरिएको हो । वागमती प्रदेशसभाले बनाएको प्रदेश उच्च शिक्षा ऐन–२०७८ चैत १४ गते जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्