जापानको होक्काइडोेमा एड्भेन्चर ट्राभल विश्व सम्मेलन सुरु

नेपालको लागि महत्त्वपूर्ण अवसर 



काठमाडौँ । 

एसियामा पहिलो पटक जापानको उत्तरी टापु होक्काइडोको सापोरोमा एड्भेन्चर ट्राभल विश्व सम्मेलन सुरु भएको छ । एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) ले आयोजना गरेको चार दिने कार्यक्रममा नेपालबाट एभरेष्ट पायोनियर ट्रेक नेपाललगायत छवटा टुर अपरेटर कम्पनीहरूले सहभागिता जनाएको छ ।

सम्मेलनमा सहभागी एभरेष्ट पायोनियर ट्रेक नेपालका सञ्चालक सहदेव श्रेष्ठले सम्मेलनमा एड्भेन्चर टुर अपरेटरहरु मात्र नभई विश्वका ठूलाठूला ट्राभल बायर कम्पनीहरूले पनि सहभागिता जनाएको नेपालसमाचारपत्रलाई बताए । उनले भने – विश्वका ठूलाठूला ट्राभल बायर कम्पनीहरुको पनि सहभागिता रहेकोले यो सम्मेलनमा नेपालको एडभेन्चरस् पर्यटकिय स्थलको बारेमा जानकारी दिन र उनीहरुलाई नेपालमा आकर्षित गर्न निकै मद्दत पुग्ने विश्वास लिएको छु । एड्भेन्चर ट्राभलमा रुची राख्नेहरु र अन्तर्राष्ट्रिय मिडियाहरुको पनि उपस्थिति रहेको यो सम्मेलनमा हामीले नेपालको साहसिक यात्रा गन्तव्य स्थलहरुका साथै पर्यटकीय स्थलहरुका बारेमा जानकारी दिन स्टल पनि राखेका छौं । नेपालको बारेमा जानकारी दिने र पर्यटकहरुलाई आकर्षित गर्ने यो एउटा महत्त्वपूर्ण अवसर भएकोले हामीले सकेजति प्रचारप्रसार गरेका छौं । यसले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको छु ।

मंगलबार औपचारिक कार्यक्रमको सुरुवात गर्दै आट्टाका कार्यकारी निर्देशक सानोन स्टोवेलले विश्वव्यापी रुपमा साहसिक यात्रा उद्योगको वर्तमान स्थितिका जानकारी दिएका थिए । कार्यकारी निर्देशक स्टोवेलका अनुसार अन्तर्राष्ट्रिय समुदायबाट साहसिक यात्राको माग बढ्दै गएको छ भने टुर अपरेटरहरु आफैं पनि यस्ता साहसिक यात्रामा थप संलग्न हुन चाहिरहेकोले साहसिक यात्रा उद्योग भविष्यमा अझै फस्टाउँदै जानेछ । श्रेष्ठले यस सम्मेलनमा विश्वास व्यक्त गरे ।

सद्भावको शिखर सम्मेलन नाम दिइएको उक्त सम्मेलनको पहिला दिन सोमबार जापानको राष्ट्रिय र स्थानीय टुर अपरेटरहरुका साथै अन्तर्राष्ट्रिय टुर अपरेटरहरु, गन्तव्य व्यवस्थापन प्रतिनिधिहरुका साथै साहसिक यात्रा उद्योगसँग सम्बन्धित निकाय तथा संघसंस्थाका प्रतिनिधिहरु गरी झन्डै आठ सय जनाको सहभागिता रहेको थियो । उक्त दिन होक्काइडोको पिपुल्स माउन्टेन अफ गडको पैदल यात्रा र शिरिबेचु नदीमा राफ्टिङको आयोजना गर्नुका साथै आदिवासी ऐनु जातीको शिल्पकला, डेसेचुजान राष्ट्रिय निकुञ्जको अन्वेषण र स्थानीय परिकारहरुको रस्वादन कार्यक्रमको आयोजना गरिएको थियो । यस पटक आट्टाले साहसिक यात्राको लागि होक्काइडोको सम्भाव्यता देखाउने योजनाअनुरुप यो सम्मेलनमा शारीरिक गतिविधि, प्रकृतिसँगको अन्तरक्रिया र सांस्कृतिक शिक्षा आदानप्रदान का कम्तीमा दुई विशेषता समावेश हुने यात्राको रुपमा सम्मेलनको डिजाइन गरेको छ । यसअघि होक्काइडोलाई हिउँ र स्की गन्तव्यको रुपमा हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्