बालिका बलात्कार अभियोगमा दुई जनालाई १२ वर्ष कैद 



लमजुङ। 

लमजुङ जिल्ला अदालतले बलात्कार अभियोगमा दुई जनालाई १२/१२ वर्ष कैद फैसला सुनाएको छ । आफ्नै छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिकाका ९ का प्रकाश थापालाई जिल्ला अदालतले १२ वर्षको कैद सजायको फैसला सुनाएको हो ।
त्यसैगरी सोही ठाउँका अर्जुन विक्रम थापालाई पनि उक्त छात्रालाई बलात्कार गरेको भनी परेको अर्को मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश शिव प्रसाद खनालको इजलासले आरोपी दुवै जनालाई बलात्कार गरेको ठहर गर्दै १२/१२ वर्ष कैद सजाय र अभियुक्तहरु दुवै जनाबाट पीडित बालिकालाई जनही २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति बापत भराउन आदेश दिएको छ । अदालतबाट पिडकहरुबाट जनही १८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न समेत आदेश भएको जिल्ला अदालतका तहसिलदार (शाखा अधिकृत) विश्वराज कुइकलले जानकारी दिए ।

२०७७ माघमा भएको बलत्कारको घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाको वडा नंं ९ मा रहेको भैरव माविका शिक्षक प्रकाश थापालाई पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिका सहितछलफल गराइएकोमा दबाबमा बालिकाले आरोप झुटो रहेको बताए पछि थापा रिहाभइ पुनः विद्यालयमा कार्यरत थिए ।

उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरु शिक्षक थापालाई कारबाही गर्नु पर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । विद्यालयका अध्यक्ष नै शिक्षकको विरोधमा उत्रेपछि शिक्षकहरु मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कारबाही गर्नुपर्ने भन्दै विद्यालयको पठनपाठन नै अबरुद्ध गरेर आन्दोलनमा उत्रिएका थिए । पछि पीडित बालीकालाई अभियुक्तले मानसिक दवाव दिएर बयान फेर्न लगाइएको ठहर गरी बाल अधिकारकर्मीहरुको सहयोगमा मनोविमर्श प्रदान गरिए पछि पुनः २०७८ भदौ १ मा ती बालिकाले शिक्षक थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानीजाहेरी दिएकी हुन् ।

सो क्रममा ती बालिकाले आफूलाई राइनास ९ कै अर्जुन विक्रम थापाले समेत पटक पटक बलत्कार गरेको भन्दै किटानी जाहेरी दिए पछि प्रहरीले तुरुन्तै शिक्षक प्रकाश थापालाई पक्राउ गरी दुवै आरोपी विरुद्ध छुट्टा छुट्टै मुद्दा  चलाएको थियो । लमजुङ जिल्ला अदालतको यही भदौ १२ गतेको फैसला पछि दुवै जनालाई कारागार चलान गरिएको लमजुङ जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्