नेपाली सेनाका ६८ जवानको दीक्षान्त समारोह सम्पन्न



डडेल्धुरा । 

रणबम गण डडेल्धुराबाट छनौट भई सैन्य तालिम पूरा गरेका नेपाली सेनाका ६८ जवानको दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ ।

अमरगढी नगरपालिका–१ दह ब्यारेकमा नौ महिने तालिम पूरा गरेकाहरुलाई एक समारोहको आयोजना गरेर दीक्षान्त गरिएको हो । सि.सं. २ सैन्य आधार तालिमको दीक्षान्त समारोह सम्पन्न भएको रणबम गण दह ब्यारेकका गणपति प्रविन थापाले जानकारी दिए ।

तालिममा ७० जना सहभागी भए पनि दुईजना तालिम गर्न नसकेर बिचमै तालिम छोडेर बाहिरिएकोले ६८ जनाले मात्रै तालिममा सफलता हासिल गरेको उनले  बताए । २५ नं. बाहिनी कञ्चनपुरका बाहिनीपति सहायक रथी मनोज थापाको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो ।

तालिममा सफलता हासिल गरेका सैनिक जवानहरुका अभिभावकहरु माझ भएको दीक्षान्त समारोहमा प्रमुख अतिथी थापाले अभिभावकहरुलाई धन्यवाद ज्ञापन दिदैं नेपाली सेना देशको रक्षा गर्न समर्पित रहेको  बताए । उनले सिपाहीको कवाजको निरिक्षण समेत गरेका थिए । नेपाली सेना संसारमा ईतिहांस बोकेको सैनिक संगठन भएकाले यसमा भर्ना भएर पूर्ण रुपमा तालिम प्राप्त गरेका सैनिक जवानहरुले लगनसिलता र इमान्दारीपुर्वक राष्ट्र सेवा गर्नुपर्ने उल्लेख गर्दै सहायक रथी थापाले बलियो राष्ट्र निर्माणका लागि सेना पहिलो कडि भएको जिकिर गरे ।

दीक्षान्त समारोहमा उपस्थित भएका सिपाहीका अभिभावकहरुले खुसीका आँशु झार्दै फूलमाला, खाँदा, अबिर लगाएर आफ्ना बालबालिकाहरुलाई खानेकुरा खुवाएका थिए । तालिमका विभिन्न बिधामा उत्कृष्ट हुन सफल भएका सिपाहीलाई प्रमुख अतिथि सहायक रथी थापाले पुरस्कार समेत वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्