किन्शासा ।
अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) मा युद्धमैदानबाट भागेको र सैन्य आदेश उल्लङ्घन गरेको आरोपमा ६६ जना सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
पूर्वी कंगोको उत्तरी किभू प्रान्तस्थित वालिकालेमा बसेको गोमा ग्यारिसन सैन्य अदालतले नोभेम्बर ६ (शुक्रबार) राति यस्तो फैसला सुनाएको हो। स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७१ जना सैनिकविरुद्ध चलेको मुद्दामा ६६ जनालाई मृत्युदण्ड, एक जनालाई १० वर्षको जेल सजाय सुनाइएको छ भने चार जनाले सफाइ पाएका छन्।
अदालतले उनीहरूलाई सैन्य कायरता, विद्रोह तथा आदेश अवज्ञा गरेको अभियोगमा दोषी ठहर गरेको हो। सजाय पाउने सैनिकहरू कंगोको सेनाको ३४१५ औँ रेजिमेन्टका सदस्य रहेको बताइएको छ।
कंगोको ३४ औँ सैन्य क्षेत्रको आधिकारिक विवरणअनुसार ती सैनिकहरूलाई अक्टोबर २० मा उत्तरी किभूको वालिकाले क्षेत्रबाट पक्राउ गरिएको थियो। उनीहरूमाथि विद्रोही लडाकुसँगको भिडन्तका क्रममा आफ्नो सैन्य चौकी छाडेर भागेको आरोप लागेको थियो।











प्रतिक्रिया