तीजको अवसरमा बजार मेला प्रवर्द्धन

 ‘महिला उद्यमी बढाऔँ, घरदेखि नगर समृद्ध बनाऔँ’ 



काभ्रे। 

बनेपा नगरपालिकाले तिजको अवसर पारी शुभकामना आदान प्रदान, बजार मेला प्रवर्द्धन तथा लोकगीत प्रतियोगिता आयोजना गरेको छ । नगरपालिका भित्रका १४ वटा वडाबाट १५ वटा समूहले प्रतिस्पर्धामा भाग लिएका थिए भने नगरपालिकाकै व्यवस्थापनमा नि:शुल्क ६५ उद्यमी महिलाहरूले स्टल राखेका थिए ।

 नगर प्रमुख शान्तिरत्न शाक्यले कार्यक्रमको उद्घाटन गर्दै महिलाहरुको सशक्तीकरण, उद्यम र उत्पादनलाई बजारीकरण गर्न यस्ता मेला महत्त्वपूर्ण हुने बताए । नगरपालिकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न तथा महिलाहरूलाई उत्पादनसँग जोडेर आयआर्जन वृद्धि गर्न सिपसँगै उत्पादनको बजारीकरणका लागि मेला प्रवर्द्धन कार्यक्रम आयोजना गरेको नगर प्रमुख शाक्यले बताए । उपप्रमुख विमला सापकोटाले तिज महिलाहरुका लागि विशेष चाड भएकाले त्यही अवसरमा हरेक महिलाहरूलाई शुभकामनाका साथै आफूले उत्पादन गरेका सामाग्रीको प्रदर्शन, उद्योगको जानकारी तथा प्रसार प्रसार र महिलाहरुको शशक्तिकरणका लागि प्रतियोगिता र प्रवर्द्धन मेला महत्त्वपूर्ण हुने बताइन् ।

 

कार्यक्रममा संविधान सभा सदस्य शिला कतिला, पूर्व सांसद गोमा भुर्तेल, विभिन्न पालिकाका उपप्रमुखहरू,  नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विजया सुवेदी, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर तथा जनप्रतिनिधिहरु, कर्मचारीहरु र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी महिलाहरूले प्रस्तुत गरेको उत्कृष्ट लोकगीतको निर्णय गर्न नगरपालिकाले वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, गायक रामहरी न्यौपाने र मन्दिरा केसीलाई जिम्मेवारी दिएको थियो । महिला उद्यमी बढाऔँ, घरदेखि नगर समृद्ध बनाऔँ भन्ने नाराका साथ सहभागिहरुले लोकगीत प्रस्तुत गरेका थिए । एउटा समुहमा ३ देखि ५ जना महिलाहरु सहभागी थिए । सहभागी भएकाहरु सबैलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो भने प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३५ सय रुपैयाँ नगद सहितको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगर प्रमुख शाक्य, उपप्रमुख सापकोटाले पहिलो हुने बनेपा ९, दोस्रो हुने बनेपा ६, तेस्रो हुने बनेपा १० र सान्त्वना हुने वडा नम्बर ११ लाई पुरस्कार वितरण गरिएको थियो । साथै नगरपालिकाबाट सिफारिस भई बागमती प्रदेशमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुने दुई महिला कमला लामा र चुना बास्तोलालाई सोही अवसरमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्