सुन चोरीको आरोपमा एक महिला पक्राउ



लमजुङ ।

लमजुङमा क्रियाशील गैरसरकारी संस्थामा कार्यरत एक महिला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बेंसीशहर नगरपालिका ८ घर भएकी २७ वर्षीय सुजा घिमिरेलाई आइतबार सुन चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेले गत वैशाख २५ गते बेसीशहर ७ क्याम्पस रोडको एक घरबाट र साउन ३० गते उक्त वडाकै न्यू ईरा बोर्डिङ स्कुल नजिकै एक घरबाट गरी २३ तोला सुन चोरी गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी बुद्धि प्रसाद सुवेदीले जानकारी दिए ।

सूचना अधिकारी सुवेदीका अनुसार आरोपित युवती घिमिरेको घरमा आइतबार बेलुका नै खोजतलास गर्दा सुनको रानीहार १ थान, सुनको वाला २ थान, सुनको रातो पत्थर जडित औँठी २ थान, सुनको औँठी २ थान, सुनको सिक्री १ थान, सुनको मिनिहार १ थान, सुनको टप ४ थान, सुनको पत्थर जडित टप २ थान, सुनको गणेशको मुर्ती भएको लकेट १ थान, सुनको झुम्का २ थान बरामद गरिएको छ ।

आरोपित घिमिरेलाई सोमबार लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्