रेशम किराको खेती गर्न हरिहरपुरगढीमा किम्बुको बिरुवा रोपियो 



सिन्धुली ।

 रेशम किराको खेती गर्ने उद्देश्यले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा किम्बुको बिरुवा रोपिएको छ । रेशम किराको खेती गरी युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले हरिहरपुरगढी गाउँपालिकाले बाझो जमिनमा किम्बुको बिरुवा रोपेको हो ।

 आज प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को उपस्थितिमा हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ को विभिन्न बाझो जमिनमा किम्बुको बिरुवा रोपेर बृहत् वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ । बृहत् वृक्षारोपण कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न ठाउँको बाझो जमिनमा २ लाख किम्बुको बिरुवा रोप्ने लक्ष्य रहेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज बाईँवाले जानकारी दिए ।

 ‘गाउँपालिकाका युवाहरूलाई स्वरोजगार बनाउन रेशमको धागो उत्पादन गर्ने उद्देश्य रहेको छ ।धागो उत्पादन गर्न रेशम किराको खेती गर्नु पर्छ र त्यो किरालाई आहारको रुपमा किम्बु खेती गर्नु पर्ने भएकाले किम्बुको बिरुवा रोप्न सुरु गरिएको हो’ अध्यक्ष बाईँवाले भने । गाउँपालिकाको धेरै भन्दा धेरै बाझो जमिनमा रेशम किराको खेती गरी रेशम धोगो उत्पादन गर्ने उद्योग स्थापना गर्न सके युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन सकिने प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले बताए । हरिहरपुरगढी गाउँपालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न रेशम किराको खेतीले पनि मद्दत पुग्ने प्रतिनिधिसभा सदस्य दाहालले बताए ।

 वृक्षारोपण कार्यक्रममा भूमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, प्रमुख प्रशासकीय अधिकृत दातराम प्याकुरेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, युवाहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्