धुलिखेलको टिकटक बर्गर हाउसले मनायो दोस्रो वार्षिकोत्सव



काभ्रे।

पर्यटकीय नगरी धुलिखेलमा कोभिड महामारीका बीच २०७८ भाद्र १४ गते श्रीकृष्ण जन्मअष्टमीको अवसर पारी सदरमुकाम धुलिखेलमा दुई राजमार्गको चोकमा चर्चित टिकटक एपका नामबाट टिकटक बर्गर हाउस एन्ड तन्दुरी चिकेनको शुभारम्भ भएको दुई वर्ष पूरा भएको छ । दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष पुगेको अवसरमा ग्राहकहरुलाई विशेष छुट, लाइभ म्युजिक तथा नयाँ नयाँ परिकार उपलब्ध गराउने घोषणा गरेको छ ।

वार्षिकोत्सवको अवसरमा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले टिकटक बर्गर हाउस एन्ड तन्दुरी चिकेनले ग्राहकहरुलाई उपलब्ध गराएको सेवाको गुणस्तरलाई अझै फराकिलो बनाउँदै ग्राहकहरुको चाहना अनुसारको विविधता भएका खानेकुराहरु उपलब्ध गराउन सुझाव दिए । ‘पर्यटकीय नगरी धुलिखेलमा होटल खुल्ने क्रम र गुणस्तरीय सेवाको स्वस्थ प्रतिस्पर्धा बढेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘ टिकटक बर्गर हाउस एन्ड तन्दुरी चिकेनले उपलब्ध गराएका सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउँदै ग्राहकको मन जित्न सफल होस् ।’ युवा व्यवसायी लक्ष्मण तामाङ र प्रवेश अधिकारीले ८० लाख लगानीमा स्थापना गरिएको टिकटक बर्गर हाउसमा अहिले डेढ करोड लगानी पुगेको छ । १६ जना कर्मचारी कार्यरत उक्त टिकटक बर्गर हाउस एन्ड तन्दुरीमा तेस्रो वर्षबाट थप परिकारहरु उपलब्ध गराउने योजना बनाइएको छ ।

प्रबन्ध निर्देशक एवं सञ्चालक प्रवेश अधिकारीले तेस्रो वर्ष प्रवेशका अवसरमा ग्राहकहरुलाई ७ दिनसम्म १५ प्रतिशत छुटको ब्यवस्था गरेको छ । साथै बिहीबार र शुक्रबार दुई दिन एउटा परिकारमा अर्काे परिकार निःशुल्क उपलब्ध हुनेछ भने साँझ ६ बजे देखि राति १० बजेसम्म भक्तपुरको द क्रोनिज ब्याण्डले साङ्गीतिक प्रस्तुति दिनेछ । नान, बर्गर,तन्दुरी, मुसाका लगायतका परिकारहरु विशेष परिकारमा पर्छन् । मुसाका परिकार नयाँ हो । चिकेन, आलु र अण्डा लगायतको फ्लेबरमा मुसाका परिकार उपलब्ध हुनेछ । ‘होटल तथा रेस्टुरेन्ट व्यवसायका कारण धुलिखेल आउने पर्यटक र पर्यटनलाई थप आकर्षित गर्नेछ’– प्रमुख अशोक ब्याञ्जुले भने–‘बिपी र अरनिको राजमार्गको संगममा खुलेका होटल तथा रेस्टुरेन्टले ठुला होटलबाट निस्कने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि थप सहजता प्रदान गर्नेछ ।’

‘ठुला होटलबाट निस्किएका पर्यटकहरु साना होटलमा प्रवेश गर्दा उतिक्कै हाईजेनिक खानेकुरा र स्वागत सत्कारको महसुस गर्न सक्छन्’– सञ्चालक लक्ष्मण तामाङले भने–‘बर्गर के हो ? बर्गरको स्वाद कस्तो हुन्छ ? बर्गर र चिकेन तन्दुरीको मज्जा कसरी लिन सकिन्छ ? त्यसकै स्वादका लागि हाईजेनिक खाना तयार गरिन्छ । साथै मुसाका नयाँ परिकार तप गरेका छौं ।’ बर्गर र चिकेन तन्दुरीका पारखीहरुका लागि टिकटक जस्तै चर्चित बन्न सक्ने गरी बर्गर र तन्दुरीको सेवा शुरु गरिएको सञ्चालक लक्ष्मण तामाङले बताए । लक्ष्मणसँग लामो समय होटलमै काम गरेको अनुभव छ । टिकटक बर्गर हाउसमा बर्गर र तन्दुरीको अलावा नान, पिज्जा र नेवारी खाजा सेटको स्वाद लिन सकिने सञ्चालक प्रवेश अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्