कास्की।
तिहारको अवसरमा पोखरा घुम्न आएका विदेशी पर्यटकलाई भाइटिका लगाएर नेपाली संस्कृतिको अनुभव गराइएको छ ।
होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा विशेष कार्यक्रम गरी पर्यटकलाई भाइटिका लगाइएको हो ।
नेपाली मौलिक संस्कृति र परम्पराको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने तथा आपसी भाइचारा र सद्भाव बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
कार्यक्रममा विदेशी पर्यटकको उत्साहजनक सहभागिता रहेको थियो । कतिपय पर्यटक यस पर्वको अनुभव लिन दोहोर्याएर समेत सहभागी हुने गरेका छन् ।
सो अवसरमा पर्यटकलाई तिहारको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराइएको थियो । उनीहरूलाई सेलरोटी लगायतका परम्परागत नेपाली परिकार खुवाउनुका साथै देउसी–भैलोसमेत प्रस्तुत गरिएको थियो ।
नेपाली चाडपर्वलाई पर्यटनसँग जोडेर विदेशी पर्यटकमाझ देशको मौलिक पहिचान स्थापित गर्ने प्रयासका रूपमा यस कार्यक्रमलाई लिइएको छ ।











प्रतिक्रिया