घरबारविहीन बसेको भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु



एजेन्सी।

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ५८ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन् । भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । प्रवक्ता मुलाउजीले मृतकको मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचानलन भएका छन् । घाइतेलाई अस्पताल पु¥याइएको छ । आगलागीको कारण भने खुलेको छैन । केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ ।

घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौता बिना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन् । उनले १५ वर्षको जागिरे जीवनमा यति भयावह घटना नदेखेको बताएका छन् । आगो लागेको भवनमा करिब दुई सय जना बसेका हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्