अधिकारी र सुन तस्कर दावाबीचको संवाद प्रकरण- अख्तियारले सीआईबीसँग ‘कल डिटेल्स’ माग्ने



-अधिकारी मन्त्रालयसँग सम्पर्कविहीन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले सुन तस्कर दावासँग गरेको वीच्याटलगायतका संवादको बारेमा पनि विस्तृत अध्ययन गर्ने भएको छ ।

अख्तियारले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहितका कर्मचारीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिसकेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक सम्बन्धका बारेमा छानबिन थालेको छ । अख्तियारका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने–‘छानबिनका क्रममा आवश्यक परेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग दावा र अधिकारीबीच वीच्याटमा भएका कुराकानीको विवरण वा कलडिटेल्स कल डिटेल्स माग्छौं ।’

सुन तस्करीका प्रमुख योजनाकार मानिएका दावा छिरिङ गत १५ साउनमा पक्राउ परेका थिए । उनको कल डिटेल्स र अन्य इलेक्ट्रिक डिभाइसका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन र छानबिन गर्दै आइरहेको छ । यसै क्रममा केही दिनअघि मात्रै सीआईबीका अनुसन्धान अधिकृतहरूले दावा र अधिकारीबीच पटकपटक वीच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको फेला पारेका थिए । सुन तस्कर दावासँग सेटिङ गरेका विभिन्न प्रमाणहरू फेला पार्दा पनि सीआईबीले अधिकारीलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट(भेप) मार्फत् गरिएको ९ किलो सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले एकै पटक विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । अख्तियारले अधिकारीलगायतका सुन तस्करीमा मुछिएका कर्मचारीको सम्पत्तिका बारेमा समेत अनुसन्धान थालेको जनाइएको छ ।

दावासँग गहिरो सम्बन्ध देखिएपछि गृह मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकबाट हटाएर मन्त्रालयकै अतिरिक्त शाखा (बरण्डा)मा राखेको छ । बिहीबारदेखि मन्त्रालयलमा तानिएका अधिकारी शुक्रबार बिदामा बस्ने र आइतबारदेखि मन्त्रालयमा आउने बताए पनि सोमबारसम्मै उहाँ मन्त्रालय जानुभएको छैन । गृह मन्त्रलायको प्रशासन शाखाका एक कर्मचारीका अनुसार आइतबारदेखि आउने कुरा भए पनि उहाँ सम्पर्कविहीन अवस्थामा नै हुनुहुन्छ ।

सीआईबीले अधिकारी र दावाबीच लामो समयदेखि वीच्याटमा विभिन्न धन्दाका बारेमा कुराकानी हुने गरेको, अधिकारीले दावालाई सहयोग गरेको र सोवापत दावाले ठुलै आर्थिक सहयोग गरेको विषय फेला पारिसकेको छ ।

अख्तियार स्रोतका अनुसार सुन काण्डमा मुछिएका तथा तस्करहरूसँग सम्बन्ध भएका कर्मचारीहरूले अकुत सम्पत्ति आर्जन गरेको प्रारम्भिक सूचनाहरू प्राप्त भइसकेका छन् ।

स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हँुदा अधिकारीले भारतीय सिमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपुर्ण भूमिका खेल्नुभएको थियो । त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत भूमिका खेल्ने गरेको अधिकारीसँग सुन तस्कर दावाको सम्बन्ध अधिकारी ठुला करदाता कार्यालयमा बस्दादेखि नै भएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्