रसुवागढी नाकाबाट १ करोड ८९ लाखभन्दा बढी मूल्यको सुनसहित १ जना पक्राउ



रसुवा । प्रहरीले आज (आइतबार) रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीबाट दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

टिमुरेबाट स्याफ्रूबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ पोखरी बस्ने २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट उक्त सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

शेर्पाले लगाएको कालोवस्त्रको तख्तामा राखेको करिब दुई किलो सुन प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त सुनमा मेटालोर १ किलो गोल्ड ९९९.९ आईएसओ २४०१८ लेखिएको छ ।

बिस्कुट आकारको दुई थान सुनको बजार मूल्य १ करोड ८९ लाख ३० हजार रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्