शाश्वत धाममा हनुमंत कथा वाचन, कार्यक्रम स्थलको तयारी पूरा

काे हुन् हनुमंत कथा वाचक धिरेन्द्रकृष्ण ?



घनश्याम बगाले 

पूर्वी नवलपरासीकाे दुम्काैलीस्थित शाश्वत धाममा शनिबार देखि सुरु हुने हनुमंत कथा वाचनका लागि भारतीय पण्डित आचार्य  धिरेन्द्रकृष्ण शास्त्री आउने भएका छन् ।
चाैधरी ग्रुप परिसरमा सञ्चालन हुने धार्मिक कथा वाचन सभामा सहभागी  श्रद्धालु भक्तजन तथा वाचक , सन्त महन्तहरू रहनका लागि करिब १० हजार मानिस अट्ने मञ्च एवं पण्डालकाे व्यवस्था गरिएको जनाइएको छ ।

कथा वाचन श्रवणका लागि श्रद्धालुहरूका अघिल्ला दिनदेखिकै बाक्लो आगमन र जमघटले दुम्काैली क्षेत्रका हाेटलहरू भरिएका छन् । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले कार्यक्रम स्थलको निरीक्षण गरी  आवश्यक  सुरक्षा व्यवस्था  मिलाइएको बताइन्  ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएर रहेको शाश्वतधाम क्षेत्र यस अघि देखिनै श्रद्धालुहरूका घुइँचो लाग्ने धार्मिक पर्यटनको केन्द्रका रूपमा चिनिदै आएकाे छ ।
यहाँ सनातन धर्ममा आधारित बेद बिद्याश्रम, गाैशाला, सराेवर  गणेश , कृष्ण लगायत महाभारत कालिन देवमूर्ती, धार्मिक संग्रहालय तथा खजुराह शैलीकाे एकाम्वेश्वर महादेवकाे भब्य मन्दिर रहेको छ ।

कथा वाचन स्थलमा चाेरी डकैती हाेहल्ला हुन नसकाेस भनि थप शान्ति  शुरक्षाका लागि नेपाल प्रहरीसहित चारै तहकाे सुरक्षा टोली कार्यक्रम स्थल वरपर रहने जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताइन्  ।

साथै उनले  स्वयंसेवकहरूले आगन्तुकहरूकाे छुट्टै लाइन बनाउने र राजमार्गकाे आवागमनलाई सुचारु राख्न ट्राफिक प्रहरी परिचालन गरिने  बताउँदै जाे कोहीलाई प्रहरी सहायता चाहिदा १ सय वा ९८५७०९०३४४ मा सम्पर्क गर्न सुझाएकी छन्  ।

स्कर्टसङमा हिन्दु स्वयंसेवक दस्ता

कथा वाचनका लागि शाश्वत धाम पाल्नुहुने धर्मगुरु एवं चमत्कारिक बाबा धिरेन्द्र कृष्ण शास्त्री बागेश्वर धाम माहाराजकाे स्वागता एवं स्कर्टसङमा जिल्ला स्थित विश्व हिन्दु युवासंघकाे टोली शनिवार चितवनकाे भरतपुर विमान स्थल जाने भएको छ ।
जिल्लाको नवलपुर क्षेत्रबाट सयौँको संख्यामा युवा स्वयंसेवक दस्ता आफ्नै पोसाकमा बालाजी महाराजलाई लिन भरतपुर जाने अध्यक्ष लक्ष्मण रिजालले बताउनु भयो ।

काे हुन् हनुमंत कथा वाचक धिरेन्द्रकृष्ण ?

भारतकाे मध्यप्रदेश स्थित छत्तरपुर जिल्ला गडागञ्जकाे हिन्दु सनातनी परिवारमा  जन्मिएका २७ वर्षीय धिरेन्द्रकृष्ण शास्त्री बागेश्वर धाम महाराजका नामले प्रसिद्ध छन् ।

उनकाे वाक्पटुता, हाउभाउ र चमत्कारिक प्रवचन शैलीले श्रद्धालुहरूका मन जित्ने गरेको कतिपय मानिसहरू बताउँछन् ।
बेलाबेलामा  हिन्दु अतिवादकाे आरोप खेप्दै आएका धिरेन्द्रकृष्ण  आँफै पनि आफूमा निहित अलौकिक शक्तिलाई बालाजीकाे कृपा बताउँदै देशदेशावरमा धार्मिक प्रवचनका लागि निस्कने गर्दछन् ।

दुम्काैली स्थित चाैधरी उद्योग ग्राम सञ्चालक चाैधरी ग्रुपका एक सदस्य बरूण चाैधरीकाे निमन्त्रणामा तीन दिने हनुमान कथा वाचनका लागि शास्त्री एयर इन्डिया विमानबाट शुक्रबार काठमाडौँ उत्रिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्