डा.बद्री केसीले पुन एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा



मस्को, । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

केसी संघको वर्तमान कार्यसमितिको कार्यकारी अध्यक्ष हुनुहुन्छ । ‘वर्तमान कार्यसमितिको मुख्य जिम्मेवारी भनेको १० औं महाधिवेसनमा देखिएको विवाद मिलाएर ११ औं महाधिवेसनमा निर्वाचन गर्ने थियो ।

त्यो जिम्मेवारी पूरा गरेको अनुभूति गरेको छु । त्यसैले अब संघका मुख्य मुद्दामा केन्द्रीत भएर बाँकी २ वर्ष काम गर्ने योजना बनाएको छु,’ केसीले भन्नुभयो । उहाँले गैरआवासीय नेपाली संघको जुलाई महिनामा सम्पन्न राष्ट्रिय समितिको निर्वाचन निकै उत्साहजनक र विवाद रहित प्रति सन्तोष व्यक्त गर्नुभयो ।

‘मुख्य जिम्मेवारी विवाद व्यवस्थापनको थियो ५८ देशमा नयाँ कार्यसमिति गठन हुँदा एउटा देशमा पनि विवाद भएन । अब एनआरएनएमा जरैदेखि एकताका आभास हुने गरी काम गर्ने सोचमा छु,’ केसीले भन्नुभयो । केसीले गैरआवासीय नेपाली संघको अभियानमा २० वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू कार्यकारी अध्यक्ष भएको नाताले पनि अध्यक्ष पदमा पहिलो दावी रहने बताउनु भयो ।

केसीले संस्थागत शुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा १० अर्ब लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले अब संस्थाको नेतृत्वमा युवा महिला र बैद्धिक व्यक्तित्वले अवसर पाउनु पर्नेमा जोड दिनुभएको छ ।

सन् २००३ देखि एनआरएन अभियानमा होमिनुभएका केसी २००७ सम्म एनसीसी रुसको साधारण सदस्य रहनुभएको थियो । त्यसपछि २००७ देखि ००९ सम्म एनसीसी रुसको महासचिव भएर काम गर्नुभएका केसी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गर्नुभयो । सन् २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहनु भएका केसी २०१३ –२०१५ मा कोषाध्यक्ष चयन हुनुभयो ।

त्यसपछि सन २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र सन २०१९ -२०२१ मा उपाध्यक्ष रहनुभएका केसी अहिले संघको कार्यकारी अध्यक्षको उम्मेदवारी सम्हालिरहनु भएको छ । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गर्नुभएका केसीको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ । संघको १० औं महाधिवेसनमा नेतृत्वको निर्वाचन हुन नसकेपछि डा केसीले ११ औं महाधिवेसनमा नेतृत्व निर्वाचनबाटै ल्याउने प्रतिबद्धता सहित तीन अध्यक्षमध्ये अन्तिम कार्यकालको लागि कार्यकारी अध्यक्ष हुन राजी हुनुभएको थियो ।

डा. केसीकै नेतृत्वमा संघका सबै राष्ट्रिय समितिमा निर्वाचन विवादरहित रुपमा सम्पन्न भएको छ । संघको अक्टोवरमा हुने ११ औं महाधिवेसनको लागि सम्पूर्ण तयारीहरु सुरु भएका छन । नयां नेतृत्वको लागि हाइब्रिडमार्फत हुने निर्वाचनको लागि एक निर्वाचन समिति समेत गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्