अवतरण हुँदै गरेको जहाजमा यात्रुले आकस्मिक द्वार खोलेपछि…



काठमाडौँ।

अवतरण हुँदै गरेको जहाजमा एक यात्रुले आकस्मिक द्वार खोलेपछि लफडा भएको छ । पोखराबाट काठमाडौँ आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइरहेका बेला सोही जहाजका यात्रु सङ्गीत भुसालले आकस्मिक डोर खोलेपछि लफडा भएको हो ।

बुद्धको बिएचए-६५४ उडानमा पोखराबाट आएको जहाज पौने चार बजे अवतरण गरेपछि जहाजका यात्रुहरु ओर्लंदै थिए । सोही क्रममा पर्वतको फौय्यु गाउँपालिका-७ स्थायी घर भएका शोभाकर भुषालका छोरा अन्दाजी १६ वर्षका सङ्गीत भुषालले जहाजको पछाडिपट्टि यात्रु ओर्लने भर्याङ्ग छेउको  आकस्मिक द्वार अन्जानबश खोलिदिए ।

लगत्तै उनलाई जहाजका कर्मचारीले समातेर प्रहरीलाई बुझाएका थिए । नेपाल प्रहरी, अध्यागमन र बुद्ध एयरका कर्मचारीहरुको छलफलमा संगीतका बाबु शोभाकरले लिखित माफीनामा पत्र लेखेपछि सवा ५ बजे सम्झाई बुझाइ गरेर छोडिएको जनाइएको छ ।

यात्रु नाबालिग भएका कारण आइन्दा यस्ता कार्य नगर्ने सर्तमा छोडिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्