सञ्चालनको ७ महिनापछि हवाई इन्धन डिपो बन्दै



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना पश्चात बल्ल हवाई इन्धन डिपो निर्माण कार्य अघि बढ्ेको छ । पुरानो पोखरा विमानस्थलको डिपोको भरमा रहेको नयाँ विमानस्थलले संचालनको सात महिनापश्चात ३६ लाख लिटर क्षमताको डिपो निर्माण कार्य थलानी गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफल जग्गामा नेपाल आयल निगमले हवाई इन्धनका लागि भण्डारण गृह निर्माण गर्न लागेको हो ।

निगमका हवाई इन्धन डिपोका परियोजना प्रमुख भरत रेग्मीका अनुसार विमानस्थलभित्रै १२ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण हुनेछन् । अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने मापदण्ड अनुसारकै इन्धन क्षमताको ट्यांकी निर्माण गरिने उहाँले बताउनुभयो ।

विमानस्थल सञ्चालनमा आए पनि इन्धन भने ट्यांकरबाटै ल्याउनु परेको थियो । उहाँका अनुसार पाँच किलोमिटरको दुरीमा रहेको पुरानो विमानस्थलबाट ढुवानी गरेको भरमा हवाई जहाजमा इन्धन भर्ने काम भइरहेको थियो । उक्त समस्याको अन्त्य अन्तर्राष्ट्रिय विमानस्थलभित्रै इन्धन डिपो निर्माणपश्चात् हुने उहाँले बताउनुभयो । ‘यो निर्माण हुन नसक्ने अवस्थासम्म पुरानै विमास्थलबाट इन्धन ल्याइने छ । पुरानो विमानस्थलको क्षमता ६० हजार लिटरको हो’ उहाँले भन्नुभयो, ‘अब हामीले एक वर्ष कुर्नुपर्छ त्यसपश्चात मात्रै विमानस्थलभित्रै डिपो रहनेछ ।’

तीनवटा ट्यांकीसंगै फायर फाइटिङका लागि आवश्यक पूर्वाधार, प्रशासन सहितका पूर्वाधार बनाउन करिब ६० करोड रुपियाँ लाग्ने उहाँको भनाइ छ । ‘विमानस्थल संचालनमा आएको दुई वर्षको अवधिमा सबै पुर्वाधार तयार पार्ने समय हुन्छ । तर, हामीले दु्रतगतिमा काम गर्दै एक वर्षभित्रै पुरा गर्ने लक्ष्य लिएका छौं’ उहाँले भन्नुभयो, ‘५–६ किलोमिटर परबाट ढुवानी गरेको भरमा इन्धन रिफ्यूल गर्न समस्या भयो । सधैं यही तरिकाले पनि नहुने भएपछि पूर्वाधार थप्न थालिएको हो ।’

एक महिनाअघि मात्रै चीनबाट पहिलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अवतरण भएको थियो । चीनबाट चार्टर गरी विमान पोखरा ल्याइएको थियो । हाल पोखरा विमानस्थलबाट आन्तरिक उडानमात्रै हुँदै आएको छ । आन्तरिक उडान भर्दा दैनिक २० देखि ३० हजार लिटर इन्धन खपत हुँदै आएको छ । रेग्मीले अहिले अन्तर्राष्ट्रिय उडान नभएकाले इन्धन खपत कम भएको र अन्तर्राष्ट्रिय उडान हुनासाथ इन्धन खपत हुने उहाँको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिरकण पोखराका प्रमुख बिक्रम गौतमले प्राधिकरणले उपलब्ध गराएको जग्गामा निगमले इन्धनका भण्डारणका पूर्वाधार बनाउन थालेको जानकारी दिनुभयो ।

उता लेखनाथमा रहेको आयल निगमको इन्धन भण्डारणको क्षमता बढाएर एक करोड लिटरको बनाइने भएको छ । निगमको इन्जिनियरिङ तथा परियोजना विभागका प्रमुख समेत रहेका रेग्मीका अनुसार गगनगौंडा डिपोको भण्डारण क्षमता अब कम्तिमा एकमहिनाका लागि पुग्ने बनाइएको छ । गण्डकी प्रदेशको मागअनुसा डिजल भण्डारणगृह निर्माण गरिएको उहाँले बताउनुभयो ‘अब गण्डकीको मागलाई सम्बोधन गर्दै निगमले गगनगौडामा एक करोड लिटर क्षमताको भण्डार गृह बनाउन लागेका छौं’ उहाँले भन्नुभयो, ‘डिजल भण्डारण गर्न ५०÷५० लाख लिटर अट्ने दुइवटा ट्यांकी निर्माण गरिएको छ ।’

गगनगौंडा डिपोमा २२ लाख ८० हजार लिटर डिजल, ३ लाख ५० हजार लिटर पेट्रोल र ७ लाख ६० हजार लिटर मट्टितेल भण्डारण क्षमता थियो । तर, मट्टितेलको भण्डारणगृहलाई पेट्रोलमा परिवर्तन गरिएको छ । मट्टितेलको ट्यांक पनि पेट्रोलमा परिवर्तन गरेपनि अहिले गगनगौंडासँग १० लाख लिटर भन्दा बढी क्षमताको पेट्रोल भण्डारण क्षमता बनेको छ । त्यसबाहेक डिजलको पुराना भण्डारणगृहलाई पनि पेट्रोलमा परिवर्तन गरेर पेट्रोलको क्षमता पनि २२ लाख लिटर पु¥याउने उहाँले बताउनुभयो ।

अहिले गगनगौंडा डिपोबाट दिनमा २ लाख लिटर पेट्रोल र ३ लाख लाख लिटर डिजल खपत हुने गरेको छ । दुइवर्ष अघि ७७ रोपनी क्षेत्रफलमा ७७ करोड रुपियाँमा निगमले भण्डारणगृह बनाउन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्