कूटनीतिक सम्बन्ध र सुरक्षाका विषयमा बोल्दा संयमता अपनाउन आग्रह



काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा र सुरक्षाका विषयमा बोल्दा संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विभिन्न देशहरूसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गर्नुभएको हो ।

बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्यालको ‘नेपाल असंंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि’ भन्ने जिज्ञासाको जवाफ दिँदै मन्त्री साउदले असंलग्न परराष्ट्र नीतिअनुसार नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गरिरहेको बताउनुभयो ।

सबै देशसँग नेपालको सुमधुर रहेको दाबी गर्दै उहाँले नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाएको बताउनुभयो । नेपालले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने र मतदान गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्