अमेरिकी सहायक विदेश मन्त्री लु आज काठमाडौं आउँदै



काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै हुनुहुन्छ । अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नेपाल र अमेरिकाबिच मिलेनियम च्यालेन्ज परियोजना (एमसीसी) सम्झौता कार्यान्वयनमा जानुअघि भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । एमसीसी परियोजना आगामी भदौबाट कार्यान्वयनमा लैजान तयारी भएको छ ।

यसका साथै बुधबार मात्रै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गर्ने सरकारको निर्णयबारे हालसम्म परराष्ट्र मन्त्रालयले अमेरिकालाई जानकारी नगराएको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको थियो । यस्तो पृष्ठभूमिमा लुको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि नेपालको संसद्बाट एमसीसी पारित गराउन दबाब दिने उद्देश्यले गत मंसीरमा उहाँ नेपाल आउनुभएको थियो । त्यतिबेला उहाँले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमु्ख प्रतिपक्षी दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो ।

यसपटक पनि उहाँले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेट्ने कार्यक्रम रहेको छ । अमेरिकी दूतावासका अनुसार उहाँले अमेरिकन चेम्बर अफ कमर्सको सदस्य संस्थासँग पनि भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामाअनुपम सिप प्रदान गर्न गरेको प्रयासको बारेमा जानकारी लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्