कार्यविधिविपरीत सिद्धलेकमा १० लाखको छात्रवृत्ति



धादिङ । आफैंले बनाएको प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ विपरीत आफ्ना समर्थकहरुलाई विरोधका बाबजुद सिद्धलेक गाउँपालिकाले छात्रवृत्ति वितरणको अन्तिम तयारी गरेको छ ।

सिद्धलेक गाउँपालिकाभित्र बसोबास गर्ने, कक्षा १ देखि एसईईसम्म सिद्धलेकका सामुदायिक विद्यालयमा अध्यायन गरी प्लस उत्तीर्ण गरेपछि अन्य सरकारी छात्रवृत्ति नपाएका, प्राविधिक विषय अध्यायन गर्ने र अध्यायन गर्न भर्ना भएकाहरुलाई कलेज तथा विश्वविद्यालयमा तिरेको बिलको आधारमा ५० हजारदेखि १ लाख ५० हजारसम्म छात्रवृत्ति दिने सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको राजपत्रमा उल्लेख छ ।

स्नातक र स्नाकोत्तर प्राविधिक विषयमा अध्यायन गर्नका लागि गरिब भएका कारण अध्यान गर्न नसकेकालाई सहयोग पुग्ने अपेक्षासहित ०७९ फागुन २९ गते कार्यपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ स्वीकृति गरेर स्थानीय राजपत्रमा उल्लेख गरेकोमा हाल वितरण गरिएको छात्रवृत्ति नियम विपरीत भएको सिद्धलेकका रकिम अन्सारीले बताउनुभयो ।

गाउँपालिकाले अघिल्लो गाउँसभाबाट गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसलाई ५ लाख, मलेखुमा रहेको जयवागेश्वरी ५ लाख, नीलकण्ठमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसलाई ५ लाख र प्राविधिक शिक्षालय गजुरीलाई २ लाख ८० हजार रुपियाँ सहयोग गर्ने उल्लेख गरेको थियो । यो कार्यक्रमअन्तर्गत हालसम्म पनि अनुदान रकम उपलब्ध नगराएको सिद्धलेक गाउँपालिकाले वर्षको अन्त्यमा हतारहतार सूचना प्रकाशन गरी कार्यविधिविपरीत प्राविधिक नपढेका माध्यमिक तहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेको हो । यसका लागि गाउँपालिकाले वैशाख २५ गते ७ दिनको सूचना दिएर छात्रवृत्ति लिनका लागि सूचना आह्वान गरेको जनाएको छ तर छात्रवृत्ति लिन आवश्यक गरिबहरुले सूचना नै जानकारी नभएको बताएका छन्।

गाउँपालिका छात्रवृत्ति व्यवस्थापन गर्न गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा बनेको समितिले निवेदन परेकामध्ये माध्यमिक तहका ४२ जनाबाट २० जनालाई ५०÷५० हजार दिने गरी असार ३ गते नाम छनोट गरेको जनाएको छ ।

कार्यविधिमा इन्जिनियरिङ, चिकित्सासास्त्र, बीएससी नर्सिङ, वन, कृषि भेटेनरी आदिलाई दिने भनिएकोमा प्राविधिक विषय नै नभएको आदर्श बहुमुखी क्याम्पसमा अध्यक्षन गर्ने ६ जना छन् । प्लस टुपछि दिने छात्रवृत्तिमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ८ जनालाई दिने सिफारिस छ भने प्राविधिक विषयमा अध्यायन गर्नेलाई दिने कार्यविधिमा स्पष्ट भए पनि ६ जना त शिक्षा संकायमा रहेको छनोट समितिले सार्वजनिक गरेको नाममा उल्लेख छ ।

छात्रवृत्ति छनोट समितिले छानेको नामका २० जनालाई ५०÷५० हजार रुपियाँ उपलब्ध गराउनका लागि पालिकाले तयारी गर्दै बैंक खाता खोलेर आउन मंगलबार छात्रवृत्ति दिन बोलाइएकाहरुलाई पठाइएको प्रमुख प्रशासकीय अधिकृत राजन फुयालले बताउनुभयो । कार्यविधि र छनोट भएकाहरुको विषय फरक परेको अवस्थामा पछि कार्यविधि सच्याउने पनि फुयालको भनाइ छ ।

पहिले रकम वितरण गरेरपछि कार्यविधि सच्याउने नेपालको कानुनविपरीत विषय हो । शिक्षा शाखाका प्रमुख रामेश्वर पुडासैनीले कार्यविधि विपरीत नभएको बताउनुभएको छ । शिक्षा समितिका सदस्य एवं वडा अध्यक्ष झकबहादुर थापामगरले हतारमा कार्यविधि पारित गरिएको र छलफल नभएको अहिले वितरण गरिने छात्रवृत्तिबारे कार्यपालिकामा छलफल नभएको बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनुभएन । पटकपटकको गरिएको टेलिफोन उठाउनुभएन । अध्यक्षलाई पठाइएको म्यासेजसमेत रेसपोन्स गर्नुभएको छैन ।

नागरिक समाजको तर्फबाट पालिकामा पटकपटक यसबारेमा जानकारी माग्दा समेत अधुरो सूचना दिने गरेको र नियमविपरीत छात्रवृत्ति बाँड्ने कार्यको विरोध गरिरहने रकिम अन्सारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्