पूर्वी नेपालमा बाढी आउँदा निर्जीवन कम्पनीलाई धक्का



काठमाडौं । पूर्वी नेपालमा आएको बाढीको असर निर्जीवन बिमा कम्पनीमाथि पर्ने देखिएको छ । असारको पहिलो साता आएको बाढीले डेढ दर्जन जलविद्युत् आयोजनामा अरबौं रुपियाँको पु¥याएको छ । सो क्षतिको अरबौं रुपियाँको बिमा दाबी एकैपटक भुक्तानी गर्नुपर्ने भएकाले निर्जीवन बिमा कम्पनीलाई असर पु¥याउने भएको हो ।

गत असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजना क्षति भएको छ । जसमध्ये १३२ मेगावाट विद्युत् उत्पादन गरिरहेका १३ वटा आयोजनामा करिब ६ अर्ब रुपियाँ बराबरको क्षति भएको छ भने निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब रुपियाँको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)को तथ्यांक छ ।

ईपानले बाढी प्रभावित आयोजनाहरूको बिमा दाबी संस्थागतरूपमा अगाडि बढाउने प्रक्रिया थालनी गरिसकेको छ । जसका लागि आयोजनाको बिमा सम्झौता, क्षतिको विवरणलगायतका कागजात प्रभावित आयोजनासँग गरेको छ । उत्पादन गरिरहेका र निर्माणाधीन आयोजनाको मानवीय क्षति एवम् भौतिक क्षतिको बिमा भुक्तानी गर्नु पर्दा निर्जीवन बिमा कम्पनीहरू वित्तीय स्वास्थ्यमा नै गम्भीर असर गर्ने विश्लेषकहरूको भनाइ छ । त्यसो त निर्जीवन बिमा कम्पनीले पुनर्बिमा कम्पनीबाट दाबी भुक्तानी फिर्ता लिने भए पनि आर्थिकमन्दीका कारण ठूलो संख्यामा बिमा सलेन्डर भइरहेका बेला तत्कालका आर्थिक भार पर्ने देखिएको छ । ईपानले सरकार, राष्ट्र बैंक, बिमा प्राधिकरणलाई जलविद्युत् आयोजनाहरूमा भएको अरबौंको क्षतिका बारेमा संस्थागत जानकारी गराइसकेको छ ।

बाढी प्रभावित आयोजनाहरूबाट विवरण संकलन गरी क्षतिको बिमा दाबी प्रक्रिया अगाडि बढाइने इपान स्रोतले नेपाल समाचारपत्रलाई बतायो । ईपान आफैंले पनि क्षतिको अध्ययन गर्न विशेष टोली परिचालन गरिसकेको जनाएको छ ।

बाढी २५ मेगावाटको काबेली बी–१ मा ५० करोड, २२ दशमलव १ मेगावाटको तल्लो हेवा खोलामा १ अर्ब, ४ दशमलव ७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोड रुपियाँको क्षति पु¥याएको छ । त्यस्तै, ३ मेगावाटको पिलुवाखोलामा ५ करोड, ४ मेगावाटको सवा खोलामा २ करोड, १० मेगावाटको काबेली बि–१ क्यासकेडमा ७० करोड, १४ दशमलव ९० मेगावाटको मायाखोलामा ५ करोड, १० दशमलव ३० मेगावाटको डाउन पिलुवाखोलामा १० करोड रुपियाँको क्षति भएको छ ।

बाढीबाट १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनामा ९५ करोड रुपियाँको क्षति भएको छ भने निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत् आयोजनामा ८० करोड रुपियाँ बराबरको क्षति भएको छ ।

उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्रै शव भेटिएको छ । त्यस्तै,७ दशमलव ५ मेगावाटको इसुवाखोला जलविद्युत् आयोजनामा ५० करोड, ९ दशमलव ७ मेगावाटको इङ्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको छ । बाढीले १५ दशमलव १ मेगावाटको सावाखोला ‘बी’मा ५ करोड, ४ दशमलव २ मेगावाटको सवाखोला ‘सी’मा ३ करोड, १४ दशमलव ५ मेगावाटको लोअर इखुवा खोलामा १० करोड, ४० दशमलव १ मेगावाटको इखुवाखोला क्स्याकेडमा ५ करोड रुपियाँको क्षति भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्