६ सय १३ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ



धादिङ । धादिङमा ६ सय १३ किलोग्राम लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको एचआर ३ यु ३४३१ नं को डिब्बा कन्टेनर भएको ट्रकलाई प्रहरीले जाँच गर्दा ६ सय १३ किलोग्राम ७ सय १० ग्राम लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

भारतको विहार मोतीहारी जिल्ला नगदाहग्राम निवासी २७ वर्षीय राजीव तिवारी भन्ने राहल तिवारीलाई पक्राउ गरिएको आइतबार पत्रकारसम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।

भारतीय ट्रक प्रयोग गरी भारततिरै लैजान लागेको भन्ने सूचनाको आधारमा प्रहरीले सो ट्रक जाँच गरेको थियो । कन्टेनरको चालक बस्नेभन्दा माथि फल्स बटम बनाइ लुकाएको अवस्थामा फेला परेको सूचना अधिकारी जैसवारले बताउनुभयो ।

पक्राउ परेका तिवारीलाई सोधुपुछ गर्दा उक्त गाँजा भारतको मोतीहारी लैजान लागेको बताएका र यस कार्यमा संलग्न अन्य अभियुक्तहरूको खोजतलाससँगै अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

यसैगरी गजुरी गाउँपालिका–६ आदमघाटबाट २ किलो ५०० ग्राम गाँजासहित गल्छी गाउँपालिका–४ निवासी २५ वर्षीय शंकर मिजारलाई पक्राउ गरेको छ ।

आदमघाटमा शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त गाँजा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्