अनशनरत विरेन्द्र जैसीको स्वास्थ्य अवस्था नाजुक



काठमाडौं ।

सरकारसँग स्वास्थ्य उपचारको माग राख्दै ९ दिनदेखि माइतघर मण्डलामा आमरण जारी राखेका अनशनरत विरेन्द्र जैसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

अनशनरत जैसी स्वास्थ्य अवस्था जाँच्न अनशनस्थल पुगेको स्वास्थ्यकर्मीको टोलीले उनको अवस्था नाजुक बनेको जनाएको हो । विसं २०७३ फागुन १ गतेका दिन जानकी गाउँपालीका भगरैया बड्कापुरमा काठ तस्कर र प्रहरीबीच भएको झडपमा प्रहरीलाई बचाउने क्रममा छातीमा गोली लागि घाइते भएका थिए ।

तत्कालै उनलाई टीकापुर अस्पतालमा प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । तर अस्पतालले उपचार गर्न नसक्ने भन्दै शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गरिएको थियो।

उक्त घटनापछि आफ्नो उपचार खर्च आफैँ बेहोर्नु परेको पीडाले उनी ग्रसित छन्। उनले पढेर भविष्यमा केही बन्ने लक्ष्य लिएका जैसी यतिबेला सोच्दै नसोचेको जिन्दगी बाँचिरहेका छन्। ८ वर्षदेखि शारीरिक पीडा भोग्दै आएका उनलाई अहिले त मानसिक पीडाले पनि सताएको छ। यो उमेरमा कमाइ गरेर परिवार पाल्नु पर्ने उनी आफैँ परिवारको बोझ बनिरहेको बताएका छन् ।

उनी आमरण अनशन बसेको ९ दिन बितिसक्दा पनि सरोकारवाला निकायको कुनै ध्यान गएको छैन। नौ दिनदेखि अनशनमा बसेका जैसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गइरहेको छ । उनको स्वास्थ्यका विषयमा चासो दिन नागरिक उन्मुती पार्टीका नेता अरुण चौधरीले सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्