बाढीले निर्माणाधीन खानेपानी पम्पिङ आयोजना बगाउँदा उपभोक्ता मारमा पर्ने सम्भावना



खोटाङ । लगातारको बर्षासँगैको बाढीले खोटाङमा निर्माणाधीन खानेपानी पम्पिङ आयोजनाका सामाग्रीहरू बगाएको छ । स्थानीय सावाखोलाको बाढीले खोटेहाङ गाउँपालिका–७ स्थित धनमुुडा सावाखोला खानेपानी आयोजना उपकरण लगायत पम्पिङ बेस ट्याङको सामग्रीहरू बगाएको हो ।

सावाखोलाबाट पम्पिङ गरेर धनमुडासम्म खानेपानी पुुर्याउन गाउँपालिका र नेपाल सरकारको संघीय खानेपानी आयोजनाले काम गरिरहेको थियो । गाउँपालिकाको ११ लाख ५० हजार र नेपाल सरकार संघीय खानेपानी आयोजनाको ११ लाख ५० हजारको लागतमा बन्दै गरेको खानेपानीको आधारभूत ट्यांकको सबै सामाग्री सावाखोलाले बेपत्ता पारेको छ ।

असार ८ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले आयोजना स्थलमा रहेको ट्यांक बनाउने रिङलगायत आयोजना स्थलमा बनाइएको सबै संरचना बगाएको छ ।

आयोजनाका लागि आवश्यक सम्पुुर्ण सामग्रीहरु खरिद गरी जोड्नमात्र बाँकी रहेको बेला बाढीले बगाएको निर्माण समितिका अध्यक्ष टेकमान मगरले जनाउनुभयो ।

अध्यक्ष मगरका अनुुसार लगभग ८० प्रतिशत काम सम्पन्न भईसकेको थियो । क्षति भएको खबरपछि उपभोक्ता समितिका अध्यक्षसमेत रहेका टेकमान मगरले इलाका प्रहरी कार्यालय खोटाङ बजारमा क्षतिको विवरण तथा स्थलगत मुचुुल्का तयारीका लागि निवेदन समेत दिनुभएको थियो ।

प्राप्त निवेदन सँगै खोटेहाङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिव फुुयल लगायत प्रहरीको टोलीले स्थलगत अध्ययन तथा सर्जिमिन मुचुल्का समेत गरेको छ । बाढीको कारण आयोजनामा करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्