कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्न नदिने



काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक पदपूर्तिका विरुद्धमा आन्दोलन गर्ने भएको छ । कक्षा ११–१२ मा कार्यरत शिक्षकहरूको पेसागत सुरक्षाका लागि आन्दोलन गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले शिक्षक सेवा आयोगबाट भइरहेको विद्यालयको प्रावि, निमावि र मावि शिक्षकहरूको पदपूर्ति विज्ञापनको विरुद्धमा तत्काल कानुनी उपचार खोज्ने निर्णय गरेको छ । संगठनले माग पूरा नभए कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्न नदिने जनाएको छ ।

वर्षौंदेखि आन्दोलन गर्दा समेत बेवास्ता गरेपछि सो संगठनले असार १७ गतेदेखि आन्दोलनको घोषणा गरेको हो । हिस्टुनले शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी घेराउ गर्ने निर्णय गरेको छ ।

त्यसअघि थप दबाब सिर्जना गर्न असार १२ गतेदेखि १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण नगर्न र नगराउन राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरलाई पत्राचार गर्ने उल्लेख गरेको छ । यदि उत्तरपुस्तिका परीक्षण कार्य स्थगित नगरेमा यसबाट उत्पन्न असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी बोर्ड र मन्त्रालय हुने चेतावनी चेतावनी दिएको छ ।

आन्दोलनका कार्यक्रमअनुसार असार १८ गते माइतीघर मण्डलामा बिहान १० देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्ने जनाएको छ । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिसकेको अवस्थामा देशभर सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पूर्ण निःशुल्क हुनुपर्ने माग संगठनको छ । त्यसका लागि संगठनले अभिभावक र विद्यार्थीलाई शुल्क नतिर्न देशव्यापी आह्वान गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्