सांस्कृतिक संस्थानले मनायो ५१औं वार्षिकोत्सव



सांस्कृतिक संस्थानले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुति तथा कलाकर्मीलाई पुरस्कार प्रदान गरेर ५१औं वार्षिकोत्सव मनाएको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित वार्षिकोत्सव समारोहमा सभामुख घिमिरेले गायक, संगीतकार तथा साहित्यकार गणेश रसिकलाई नगद ५१ हजार रुपैयाँसहित सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८० बाट सम्मानित गरे। समारोहमा सभामुख घिमिरेले जनही ५१ हजार रुपियाँसहित तीन कलाकार र एक उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरे। कार्यक्रममा सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८० बाट गायक, संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईलाई पुरस्कृत गरियो भने सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८० बाट नृत्य कलाकार विमला श्रेष्ठ क्षेत्री र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८० बाट अभिनेत्री सुष्मा शाहीलाई सुरस्कृत गरियो। त्यस्तै, यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरियो।

समारोहमा स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले संस्थानमा रहेर आफूले गरेको विभिन्न कार्यको जानकारी गराए। उनले लोक संस्कृतिको अभिलेखीकरणदेखि सांस्कृतिक फोटो पुस्तक प्रकाशनसम्म गरेको जानकारी गराए। सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुत गर्नुका साथै संरक्षण गर्ने काममा संस्थानको योगदान रहेको बताए। समारोहका सभापति संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव सुरेश अधिकारीले संस्थानले कार्यक्रममा प्रस्तुत गरेको गायन एवम् नृत्य उत्कृष्ट रहेको बताए।

कार्यक्रममा हिमालदेखि तराईसम्मका विविध गीत संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। हिमाली भेकको याक नृत्यबाट सुरु गरिएको कार्यक्रममा तराईको संस्कृतिलाई समेटिएको भोजपुरी गीत र नृत्य, मैथिली गायन र झिंझिया नृत्य, भोजपुरी गायन तथा होली नृत्य, अरुण भ्यालीको पूर्वेली असारे र नृत्य, संगीनी नृत्य, खैंजेडी भजन गायन र नृत्य आकर्षक थिए। कार्यक्रममा प्रस्तुत गरिएको राष्टिझय गीत यो मन त मेरो नेपाली हो, यो नेपाली शिर उचाली, वीर नेपालीमा दर्शकले तालीले साथ दिएका थिए भने संस्थानका वाद्यवादक कलाकारले विभिन्न धुन प्रस्तुत गरेर केही क्षण दर्शकलाई मन्त्रमुग्ध तुल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्