–ओली–प्रचण्डबीच तालमेलको समझदारी
–जिल्ला र पालिकासम्मै सहकार्य विस्तार गर्ने तयारी
–औपचारिक सहमतिबारे नेताहरूको भनाइ बाझियो
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले परम्परागत राजनीतिक दलको जनाधार खुम्चिँदै गएपछि दुई ठूला कम्युनिस्ट शक्ति नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी चुनावी मोर्चाबन्दीको तयारीमा जुटेका छन् । आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा मत विभाजन रोक्दै राजनीतिक प्रभाव जोगाउने रणनीतिसहित एमाले र नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि जिल्ला र पालिकासम्मै चुनावी सहकार्य विस्तार गर्ने गृहकार्य थालेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आगामी निर्वाचनमा मिलेर जाने विषयमा प्रारम्भिक समझदारी बनेको नेताहरूको भनाइ छ । तर, सहमति औपचारिक भइसकेको हो वा छलफलकै चरणमा छ भन्ने विषयमा भने दुवै दलका नेताको भनाइ बाझिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले एमालेसँग आगामी निर्वाचनमा सहकार्य गरेर जाने समझदारी बनेको बताउनुभएको छ । तर, एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले औपचारिक सहमति भइसकेको भन्ने समाचारमा सत्यता नरहेको दाबी गर्नुभएको छ ।
आचार्यका अनुसार निर्वाचनको मिति नै घोषणा नभइसकेको अवस्थामा चुनावी तालमेलबारे औपचारिक सहमति भएको भन्न मिल्दैन । यद्यपि, दुई दलका नेताबीच अनौपचारिक संवाद र छलफल जारी रहन सक्ने उहाँको भनाइ छ ।
एमाले सचिव भानुभक्त ढकालले भने प्रदेश सरकारमा भएको सहकार्यले आगामी निर्वाचनमा तालमेलको आधार तयार गरेको बताउनुभएको छ । केन्द्रबाट गठबन्धन घोषणा गर्नुभन्दा जिल्ला, पालिका र स्थानीय तहमा आपसी विश्वास र समझदारी निर्माण गर्ने रणनीति अघि सारिएको उहाँको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पनि प्रदेश सरकारबाट सुरु भएको सहकार्यलाई संसद्, सडक र निर्वाचनसम्म विस्तार गर्न सकिने धारणा राख्नुभएको छ । यसले दुई दलबीचको संवाद शीर्ष नेतृत्वमा मात्रै सीमित नरही तल्लो तहसम्मै राजनीतिक समझदारी बनाउने दिशामा अघि बढेको संकेत गर्छ ।
यसअघि असोजको अन्तिम साता ओली र प्रचण्डबीच स्थानीय तथा प्रदेश निर्वाचनसम्म सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । दुवै नेतानिकट स्रोतका अनुसार प्रदेश सरकारमा भइरहेको सहकार्यलाई निर्वाचनसम्म निरन्तरता दिने र त्यसका लागि जिल्ला तथा स्थानीय तहमा समेत समझदारी बनाउने विषयमा कुराकानी भएको थियो ।
प्रदेश सरकारको सहकार्यलाई चुनावसम्म विस्तार गर्ने रणनीति
एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहकार्य केवल आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने प्रयासमा सीमित छैन । गत साउनमा भएको तीनबुँदे सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्ने समझदारी बनेको थियो । मधेस र गण्डकीको हकमा भने अन्य दलसँगको परामर्शमा सरकार गठनको स्वरूप तय गर्ने भनिएको थियो ।
प्रदेश सरकारमा बनेको यही समीकरणलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने दुवै दलको रणनीति देखिन्छ । वामपन्थी मत एकअर्काविरुद्ध खेर जान नदिने र राजनीतिक प्रभाव कायम राख्ने उद्देश्यले सहकार्यको प्रयास भइरहेको नेताहरूको भनाइ छ ।
यसअघि असोज ४ गते बागमती प्रदेश कमिटीको कार्यक्रममा प्रचण्डले एमाले र राष्ट्रिय जनमोर्चासँग सहकार्यको समझदारी बनेको तथा अन्य वामपन्थी र देशभक्त शक्तिसँग पनि संवाद भइरहेको बताउनुभएको थियो । त्यसपछि एमाले अध्यक्ष ओलीले पनि पार्टीको केन्द्रीय कमिटी बैठकमा नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियो ।
रास्वपाको चुनावी तयारीले पुराना दलमा दबाब
दुई कम्युनिस्ट पार्टीबीच सहकार्यको आवश्यकता बढ्नुको प्रमुख कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम पनि हो । उक्त निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको नेतृत्वमा पुगेपछि लामो समयदेखि राजनीतिक शक्ति अभ्यास गर्दै आएका एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी प्रतिपक्षमा पुगेका थिए ।
निर्वाचन परिणामले पुराना दलको संगठनात्मक शक्ति, नेतृत्वको कार्यशैली र जनतासँगको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको थियो । विशेषगरी युवा तथा परिवर्तन चाहने मतदाताको समर्थन रास्वपातर्फ केन्द्रित भएपछि पुराना दलहरू आफ्नो गुमेको राजनीतिक आधार फर्काउने दबाबमा छन् ।
यही दबाबबीच रास्वपाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका आकांक्षीबाट आवेदन लिन ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको रास्वपाले स्थानीय तहका मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र निर्माणको तयारीसमेत गरिरहेको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको रास्वपाले यसपटक पहिलोपटक देशव्यापी रूपमा स्थानीय सरकारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीति लिएको छ । यसले एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई सम्भावित चुनावी प्रतिस्पर्धाअघि नै सहकार्यको विकल्प खोज्न बाध्य बनाएको देखिन्छ ।
३४९ स्थानीय तहको चुनावी गणित
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ३२७, एमालेले २०७ तथा अहिलेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका घटकले करिब १४२ स्थानीय तहमा नेतृत्व जितेका थिए ।
तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका घटकको जित जोड्दा एमाले र नेपाली कम्युनिस्ट पार्टीसम्बद्ध दलको संख्या ३४९ पुग्छ । यसले दुई दलबीच प्रभावकारी तालमेल भए स्थानीय तहको चुनावी गणितमा उल्लेख्य प्रभाव पार्न सक्ने देखाउँछ ।
तालमेल भएमा एकअर्काविरुद्ध उम्मेदवारी दिएर मत विभाजन हुने जोखिम कम गर्न सकिन्छ । एमालेको संगठनात्मक पकड बलियो भएका क्षेत्र र माओवादी पृष्ठभूमिका दलको प्रभाव रहेका क्षेत्रमा परस्पर सहयोग गर्न सके कांग्रेस र रास्वपासँगको प्रतिस्पर्धासमेत नयाँ मोडमा पुग्न सक्छ ।
तर, चुनावी मोर्चाबन्दीको बाटो सहज छैन । उम्मेदवार छनोट, स्थानीय तहको नेतृत्व कसले लिने, कुन क्षेत्रमा कुन दलले उम्मेदवारी दिने र कसले कसलाई सघाउने भन्ने विषय नै मुख्य विवाद बन्न सक्छन् । विगतमा एकअर्काविरुद्ध चुनाव लडेका कार्यकर्ता र स्थानीय नेताबीच सहमति कायम गर्नु पनि दुवै दलका लागि चुनौतीपूर्ण हुनेछ ।
केन्द्रमा शीर्ष नेताबीच समझदारी बने पनि स्थानीय तहमा वर्षौंदेखि कायम राजनीतिक प्रतिस्पर्धा र व्यक्तिगत दाबी व्यवस्थापन नगरेसम्म तालमेल कार्यान्वयन कठिन देखिन्छ ।
पुराना दलका लागि अस्तित्व रक्षाको परीक्षा
आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन पुराना राजनीतिक दलका लागि नियमित चुनावी प्रतिस्पर्धामा मात्र सीमित हुने छैन । प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनमतको सन्देशपछि जनताको विश्वास पुन:प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने अग्निपरीक्षा पनि हुनेछ ।
एमालेले हालै काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलामा करिब ३ हजार ४०० नेता तथा कार्यकर्ता सहभागी गराएर संगठन पुनर्जागरण र स्थानीय निर्वाचनको तयारीलाई प्राथमिकता दिएको थियो । पार्टीले स्थानीय तहसम्म संगठन विस्तार, मतदाता विवरण अद्यावधिक र उम्मेदवार छनोटको गृहकार्य अघि बढाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले पनि दुईमहिने राष्ट्रिय जागरण अभियानमार्फत वडा तहसम्म संगठन विस्तार र स्थानीय मुद्दामा जनसम्पर्क बढाउने प्रयास गरिरहेको छ । दुवै दलका गतिविधिले आगामी निर्वाचनलाई केन्द्रित गरेर राजनीतिक सक्रियता बढेको देखाए पनि चुनावी तालमेलको वास्तविक परीक्षा भने शीर्ष नेताबीचको समझदारीलाई स्थानीय तहमा कार्यान्वयन गर्न सक्ने क्षमतामा निर्भर रहनेछ । रास्वपाको चुनौती सामना गर्न मोर्चाबन्दीको तयारीमा रहेका एमाले र नेपाली कम्युनिस्ट पार्टीका लागि अबको प्रश्न सहमति गर्नेभन्दा पनि त्यसलाई व्यवहारमा उतार्ने हो ।








तपाईंको विचार लेख्नुहोस्