सगरमाथामा पाँच स्वचालित मौसम केन्द्र


–एक महिनापछि चारवटा स्टेसन सरकारलाई हस्तान्तरण गरिने
–८ हजार ८ सय मिटर उचाइसम्म मौसमको अवस्था मापन
–जलवायु परिवर्तनले हिमालको हिउँ र हिमताल घट्दो क्रममा

काठमाडौँ ।

जलवायु परिवर्तनले हिमालमा पारेको असर अध्ययन गर्न विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाँचवटा स्वचालित मौसम केन्द्र (स्टेसन) जडान गरिएको छ । नेशनल जियोग्राफीको सहयोगमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ८ हजार ८ सय मिटर उचाइसम्म ती स्टेसन जडान गरेको हो । जडान गरिएका पाँचमध्ये चारवटा स्टेसन एक महिनापछि सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

त्रिविका पूर्वउपकुलपति एवं जल तथा मौसम विज्ञान विभागका प्राध्यापक वरिष्ठ मौसमविद् डा. दीपक अर्यालले चारवटा स्टेसन डिसेम्बरमा नेपाल सरकारलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार त्रिविको उपस्थितिमा नेशनल जियोग्राफीले हस्तान्तरण कार्यक्रम गर्नेछ ।
हस्तान्तरण गरिने स्टेसनमा ६ हजार ४६४ मिटर उचाइको क्याम्प–२, ५ हजार ३१५ मिटरको बेसक्याम्प, ३ हजार ८१० मिटरको फोत्र्से र ७ हजार ९४५ मिटरको साउथकोल रहेका छन् । सबै स्टेसन सञ्चालन गर्दा खर्च बढी लाग्ने भएकाले सरकारले जिम्मा लिने तयारी गरिएको हो ।

प्राडा अर्यालका अनुसार एउटा स्टेसनको अनुगमन तथा सञ्चालनमा करिब २ करोड रुपियाँ खर्च लाग्छ । विश्वकै अग्लो स्थानमा जडान गरिएका यी केन्द्रले जलवायु, हिमताल, हिमनदी र हिमपहिरोलगायतका विवरण अध्ययन गर्नेछन् । एसियाको जलभण्डार मानिने हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तन तथा विभिन्न उचाइका तहमा हुने परिवर्तन मापन गर्न यी केन्द्र महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सगरमाथाको कठोर वातावरणका कारण तथ्यांक संकलन चुनौतीपूर्ण छ । विशेषगरी हिमनदी जम्मा हुने र पर्वतारोही बढी जोखिममा रहने माथिल्लो क्षेत्रमा मौसमको अवस्था मापन गर्न कठिन हुन्छ । यसअघि पनि सगरमाथामा मौसम मापन केन्द्र सञ्चालनमा थिए । विश्वकै तत्कालीन सबैभन्दा अग्लो स्थानमा रहेको केन्द्रसमेत सञ्चालनमा रहे पनि पहुँच र समयका हिसाबले तिनको क्षमता सीमित थियो । ‘अब सो क्षेत्रमा पाँचवटा स्टेसन सञ्चालनमा आएका छन् । जसले यस विशिष्ट हिमालको निगरानी क्षमतालाई निकै बढाएको छ’ –प्राडा अर्यालले भन्नुभयो ।

यी स्टेसनको अनुगमन सहज बनाउन जीपीएस डिभाइस प्रयोग गरिएको छ । स्वचालित प्रणाली भएकाले मोबाइलबाटै मौसम केन्द्रको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ । यसअघि विश्वभर तीन हजार मिटरभन्दा कम उचाइमा मात्रै मौसम केन्द्र राख्ने प्रचलन थियो । जलवायु परिवर्तनको असर अध्ययन गर्न नेपालले पाँच हजार मिटरभन्दा माथि १९ वटा र सगरमाथाको आधार शिविरदेखि ८ हजार ८ सय मिटरसम्म पाँचवटा स्टेसन राख्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

सगरमाथाको ८ हजार ८१० मिटर उचाइमा जडान गरिएको सबैभन्दा अग्लो एउटा स्टेसन हावाले उडाएको थियो । ‘अब ८ हजार ८ सयदेखि मुनि ३ हजार ८ सय मिटर उचाइसम्म चारवटा राखेका छौँ’ –प्राडा अर्यालले भन्नुभयो ।

देशभर करिब १९ हजार ४६ वटा स्टेसन रहेका छन् । तीमध्ये अधिकांश तीन हजार मिटरभन्दा कम उचाइमा बाढी र पानीको मात्रा मापन गर्न जडान गरिएका हुन् । जडान गरिएका १९ वटा स्टेसनले तीन हजार मिटरभन्दा माथिको उचाइ र त्यहाँको हिउँको अवस्थाबारे जानकारी दिनेछन् ।

हिमालमा हिउँको मात्रा घट्दै गएको छ । सन् २००७ पछि हिउँको मात्रा निरन्तर घटिरहेको छ । उत्तरी क्षेत्रका हिमनदी, तलाउ र हिमतालसमेत घट्दो क्रममा छन् । यसले जलवायु परिवर्तनका कारण नेपालमा ठूलो असर परिरहेको देखाउने मौसमविद्हरूको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।