५ हजारमा ६४ पृष्ठको ‘राहदानी’

११ महिनामा १८,७७३ हजारले फोटो खिचाए, निःशुल्क फाराम, टोकन र टाइम अनिवार्य



काभ्रे। 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असार ३ गतेदेखि लागू हुने गरी ५ हजार रुपैयाँ राजश्व तिर्दा ६४ पृष्ठको राहदानी उपलब्ध गराउने भएको छ । राहदानी विभागको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयबाट फाराम भर्ने सेवाग्राहीहरूले उक्त मितिदेखि थप पृष्ठको राहदानी प्राप्त गर्ने भएका हुन् । यस अघि सेवाग्राहीहरूले ३४ पृष्ठको राहदानी पाउँदै आएका थिए ।

‘यस अघि देशभर ३४ पृष्ठको राहदानी उपलब्ध हुँदै आएको थियो’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘असार ३ गतेदेखि राहदानीका लागि तस्बिर खिचाउनेहरुले ६४ पृष्ठको राहदानी पाउनेछन् ।’ यस अघि नागरिकहरुले कम पृष्ठको राहदानी हुँदा राज्यबाट ठगिएको गुनासो गर्दै आएका थिए । जेठ महिनामा मात्रै जिल्लाबाट २ हजार ४ सय २९ जनाले राहदानी लिएका छन् भने द्रुत गतिमा ३७ जनाले राहदानी लिएका छन् । जसबाट राज्यले १ करोड २५ लाख रुपैयाँ भन्दा धेरै राजश्व सङ्कलन गरेको छ ।

राहदानीका लागि सङ्कटको सामना गरिरहेका नागरिकहरुले चालु वर्षको ११ महिनाको अवधिमा १८ हजार ७ सय ७३ जनाले फोटो खिचाएका छन् । फोटो खिचाउनेहरुमा २०७९ साउन महिनामा जिल्लाबाट १ हजार ९ सय ७६ र द्रुत गतिबाट २२, भाद्र महिनामा १ हजार ७ सय ७९ र द्रुत गतिबाट ४५ जनाले राहदानी लिएका छन् । त्यस्तै असोज महिनामा ७ सय १७ जनाले जिल्लाबाट लिएका छन् भने कार्तिक महिनामा १ हजार २ जनाले जिल्लाबाट र द्रुत गतिबाट ८ जनाले लिएका छन् । मसिंर महिनामा ९ सय ७१ जनाले जिल्लाबाट र ५ जनाले द्रुत गतिबाट र पुस महिनामा १ हजार ३ सय ९९ जनाले जिल्लाबाट तथा १३ जनाले द्रुत गतिबाट राहदानी लिएका थिए । माघ महिनामा १ हजार ४ सय ७९, फागुन महिनामा २ हजार २ सय ८९ जना र चैत्र महिनामा २ हजार ५ सय ७० जनाले राहदानी प्राप्त गरेका छन् । त्यस्तै वैशाख महिनामा २ हजार ३२ जनाले राहदानी लिएका छन् भने ज्येष्ठ महिनामा २ हजार ४ सय ६६ जनाले राहदानी लिएका छन् । राहदानीबाट मात्रै राज्यले ९ करोड ४७ लाख ९५ हजार असुल गरेको छ ।

माघ महिनासम्म राहदानी प्राप्त गर्नेहरुको संख्या प्रति महिना मुस्किलले पनि दुई हजार पुगेको थिएन । फागुन महिना देखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हरेक दिन निःशुल्क राहदानीको फाराम प्रशासन कार्यालय आफैले भरिदिने र फोटो खिचाउन सुरु गरेसँगै राहदानी प्राप्त गर्नेहरुको सख्या थपिएको हो । त्यस अघि नागरिकहरुले हप्ताको दुई दिन सीमित अवधिमा आफै वा साईबरमा पैसा तिरेर राहदानीको फाराम भर्ने गरेका थिए । एक वर्ष अवधिसम्म राहदानीको लागि फाराम भर्न नपाएको गुनासो एकातिर थियो भने अर्को तिर साईबरहरुले पैसा लिएर पनि राहदानीको फाराम नभरिदिएको गुनासो आउन थालेको थियो । ‘राहदानीका लागि टोकन र टाइम कार्ड उपलब्ध गराएसँगै सार्वजनिक बिदाको दिन समेत सेवा प्रवाह गरेका कारण अहिले सेवाग्राहीलाई सहज भएको छ’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले भन्नुभयो–‘सुरुमा ७ सय भन्दा धेरैले एकै दिन टोकन र टाइम लिएको अवस्था अहिले शून्य जस्तै हुन थालेको छ । दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकहरुलाई सेवा प्रदान गरिए पछि राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता लगायतका सेवामा सहज गरिएको पौडेलले बताउनु भयो । राहदानीका लागि जिल्ला प्रशासन कार्यालयले निःशुल्क फाराम भरेर आफ्नो फाराम आफै स्क्रिनमा देखिने गरी फोटो खिचाई रहेको छ । यो देशभरका प्रशासन र विभागमा पनि नमुना कार्य भएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले नागरिकहरुलाई सेवामा सहजता र प्रभावकारी दिने उद्देश्यले कार्यालय समय भन्दा थप समय तथा शुरुको अवधिमा सार्वजनिक बिदाको समयमा पनि राहदानीका लागि सेवा दिइएको बताउनु भयो । दैनिक एक सय ५० भन्दा धेरै ब्यक्तिहरुले राहदानीका लागि आवेदन दिने गरेका छन् ।

कुन महिना कतिले लिए राहदानी ?
२०७९ साल

साउन– १९९८

भदौ– १८२४

असोज – ७१७

कार्तिक – १०१०

मसिंर – ९७६

पुस – १४१२

माघ – १४७९

फागुन– २२८९

चैत्र – २५७०

२०८० साल

वैशाख – २०३२

ज्येष्ठ – २४६६

जम्मा– १८७७३

प्रतिक्रिया दिनुहोस्