गायकबाट नायक, नायकबाट गायक



पछिल्लो समय धेरै गायकलाई पर्दामा नायकको रूपमा देखि“दै आएको छ। तर, अहिले मात्र नभई गायकहरूमा पनि अभिनय मोह जागेको देखिन्छ भने नायकहरूमा पनि गायक बन्ने अभिलाषा पाइन्छ। पछिल्लो समयमा गायकहरू आफ्ना गीतका मोडलिङदेखि फिल्ममा मुख्य अभिनेताको रूपमा अभिनय गरिरहेको देखिन्छन्। तर गायक हुँदै नायक र नायक हुँदै गायक बन्ने चलनको सुरुवात चाहिँ नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमाबाट नै सुरु भएको पाइन्छ।

हिरा सिंह खत्रीद्वारा निर्देशित तथा २०२२ सालमा प्रदर्शित पहिलो नेपाली फिल्म आमाका नायक शिव शंकर नेपालकै प्रथम अभिनेता हुन्। तर, उनी नेपालकै प्रथम नायक बन्नुअघि स्थापित गायक थिए। गीत संगीतमा निकै रुचि राख्ने उनी रेडियो नेपालमा स्थापनाकालदेखि नै गायकको रूपमा प्रवेश गरेका थिए भने आमामा उनले आफ्नै लागि पाश्र्व स्वर दिएर आफैंले अभिनय गरेको दृश्यका लागि आफैं गीत पनि गाउने पहिलो नायक पनि बने। उनले यससँगै मनको बाँध, कुमारी, २५ वसन्त, शान्तिदीपलगायतका केही फिल्ममा संगीतका दिएका थिए।

शिव शंकर मानन्धर वास्तवमा ख्यातिप्राप्त गायक तथा संगीतकार थिए। उनले खेलेको पहिलो र अन्तिम फिल्म आमा थियो। तर, उनले संगीतकार नातिकाजीका साथ संयुक्तरूपमा मनको बाँध, पच्चीस वसन्त, कुमारीजस्ता थुप्रै फिल्मका गीतमा संगीत भर्नुका साथै विभिन्न भजन आधुनिक तथा राष्ट्रिय गीतको संगीत तथा गायन गरेका थिए। गायन पेशाबाट अभिनयमा जोडिए पनि उनको अभिनयभन्दा संगीत जीवन सफल रहेको पाइन्छ।

आमाबाटै नेपाली रजतपटको प्रथम अभिनेत्री बन्ने पुगेकी भुवन चन्द सानैदेखि गायन नृत्य तथा अभिनयमा रुचि राख्ने गर्थिन्। कलाकार तथा नृत्य निर्देशक पिता भैरवबहादुर थापाकी छोरी उनी फिल्मकी अभिनेत्री बन्नूअघि गायन तथा नाटक अभिनयमा सक्रिय थिइन्। फिल्म आमापछि उनले हिजो आज भोलि, दुई थोपा आँसु, कोसेली सिमा रेखाजस्ता फिल्महरूमा अभिनय गरिन्। हालसम्म पनि अभिनयलाई नै निरन्तरता दिँदै आएकी भुवनले केही वर्षअघि साइनो नामक फिल्मसमेत निर्माण गरेकी थिइन्।

गायनपछि अभिनयमा आबद्ध हुने अर्का व्यक्तित्व हुन् उदित नारायण झा। गायनमा लोकप्रियता पाउँदै गर्दा उनले फिल्म कुुसुमे रुमालमा नायकको रूपमा अभिनय गरेका थिए। नेपाली फिल्मको इतिहासमा सिल्भर जुब्ली मनाउने पहिलो फिल्म कुुसुमे रुमालको हिट गीत मायाको बारीमा, सुन भन नजस्ता गीत नै उनले गाएका थिए। फिल्म हिट भए पनि उदितले भने यसपछि अर्को फिल्ममा काम गरेनन्। बरु बलिउडमा संघर्ष गर्दै बलिउड पाश्र्व गायनमा एक समय एकछत्र राज गर्न सफल भए।

लोकप्रिय अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी गायक पनि थिए भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ। वास्तवमा उनी अभिनयसँगै गायनमा पनि सक्रिय थिए। उनले गाएको मायालु तिमी टाढा भइदिनाले बोलको गीतमाथि बनेको म्युजिक भिडियो नेपालकै पहिलो म्युजिक भिडियोसमेत हो। जसलाई संगीतकार तथा गायक शम्भुजित बास्कोटाले निर्देशन गरेका थिए। उनले जेठी छोड घरबार जाने बोलको अर्को गीत पनि गाएका छन्। तर, स्वरमा खराबी आएपछि भुवनले गायन यात्रालाई चटक्कै छोडे भने उनी बेलाबेला अनौपचारिक रूपमा गीत गाएको पनि देख्न सकिन्छ।

२०२३ सालमै रेडियो नेपालमा स्वर परीक्षण गरेर गीत रेकर्डीङ गर्दै गायनमा प्रवेश गरेका ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली र नेवारी गरी सयौं गीत गाएका छन्। उनका अरबौं मान्छेहरूमा तिमी एक मनपर्ने मान्छे, खोलावारी खोलापारी पीपलु र वर, पसलबाट बिकिसकेको म, हे भगवान् मेरो खल्तीको घाउजस्ता थुप्रै गीत हिट छन्। पछिल्लो समय उनले लेजेन्ड्री भर्सनमा फूलबुट्टे सारी बोलको गीत पनि गाएका थिए।

मदनकृष्णको गायकीबाट प्रभावित भएर उनको जोडी अर्का हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य पनि गायक बने। अभिनय यात्राको सिलसिलमा मदनकृष्णसँग भेट भएर जोडी बाँधिएपछि आफू पनि उनकका कारण गायनमा प्रभावित भएको हरिवंशले बताएका छन्। हरिवंशका हाम्री आमा साह«ै नै बाठी छिन्, साझा बसमा जो पनि चढ्दछ, चञ्चले चञ्चले गण्डकी अञ्चले, सारंगी रेटौंलाजस्ता थुप्रै गीत सदावहार हिट छन्। पछिल्लो समय हरिवशंको काउली बोलको गीत हिट छ। मह जोडीले संयुक्त रूपमा हास्यव्यग्य तथा जनचेतनामूलक गीत गायन गर्दै आएका छन्।

गायकबाट नायकका रूपमा अभिनयमा आएका अर्का व्यक्ति हुन् यस कुमार। मैले छोएको पानी चल्दैन बोलको गीतबाट लोकप्रियता कमाएका उनले म आफ्नै इनारमा आँगन बनाउँछु, जस्ता जातीय विभेदविरुद्धका गीतमार्फत सामाजिक चेतनाका लागि योगदान दिएका छन्। जातीय विभेदकै विषयमा बनेको फिल्म बाटोमुनिको फूलमार्फत अभिनयमा प्रवेश गरेका उनले बाटो मुनीको फूल २ तथा आफ्नै निर्देशन र अभिनयमा तेस्रो फिल्म छिरिङमा अभिनय गरेका छन्। दर्शकमाझ बेला–बेला गीत लिएर आउने उनी देशविदेशका सांगीतिक कार्यक्रममा सहभागी भइरहेका हुन्छन्।

बाबु बोगटी नायकका रूपमा देखिने अर्का गायक हुन् बाबु बोगटी। सान्नानी तिमीलाईजस्तो हिट गीत दिएका उनी फिल्म बाटोमुनिको फूलमार्फत नायक बने। तर उनले पनि नायकको रूपमा तहल्का मच्चाउन भने सकेनन र पुनः गायनमै फर्किए।

गायक निमा रुम्बा पनि फिल्म कागबेनीमार्फत रजतपटमा प्रवेश गरे। भूषण दाहालद्वारा निर्देशित उक्त फिल्म खेलेको करिब एक दशकपछि फिल्म छिरिङमार्फत फिल्म अभिनयमा फर्किए नि अभिनेताको रूपमा खासै सफल देखिएनन्। बरु उनलाई दर्शकहरू उनका पुराना सा“झमा पनि रातमा पनि, मायालु, ओ ओ ओ आउ आउ नजस्ता गीतहरूमार्फत सम्झन्छन्।

रामकृष्ण ढकाल सानै उमेरमा स्वर सम्राट नारायण गोपालका गीत गाएर लोकप्रियता हासिल गरेर गायन क्षेत्रमा प्रवेश गरेका गायक हुन््। २०५० सालमा आशीर्वाद एलबम प्रकाशन गरेका उनले आफ्नो पहिलो एलबमकै नामको फिल्म आशीर्वादमा नायक तथा गायकका रूपमा काम गरे। दरबार हत्याकाण्डको समयमा प्रदर्शन भएको उक्त फिल्मले व्यावसायिक सफलता भने पाउन सकेन। केही वर्षपछि फिल्ममा अभिनय गर्ने सोच रहेको अभिव्यक्ति दिएका रामकृष्ण आफ्ना गीतका म्युजिक भिडियोमा बाहेक फिल्ममा भने देखिएका छैनन्। तर, एकपछि अर्को राम्रा गीतका साथ दर्शकमाझ आइरहन्छन्।

इन्डियन आइडल–३ का विजयी तथा गायक प्रशान्त तामाङले गायकको रूपमा लोकप्रियता पाउँदै गर्दा फिल्म गोरखा पल्टनमा नायकका रूपमा अभिनय गरे। उक्त फिल्म लोकप्रिय भएसँगै दोस्रो फिल्म परदेशीमा अभिनय गर्दै अभिनयलाई निरन्तरता दिए पनि त्यसपछि भने उनका अन्य फिल्म दर्शकले हेर्न पाएनन्।

नेपाली, हिन्दी, तीब्ती र अंग्रेजी भाषाका कभर गीतमार्फत गायनमा पहिचान बनाएका तिब्बती गायक सोनाम तोप्देनले फिल्म सम्हालिन्छ कहिले मनबाट अभिनयमा पाइला राखे। आफूले गाएका गीतका भिडियोमा मोडलिङ गरेका उनी फिल्म खेल्दा अभिनयप्रति निकै उत्सुक देखिन्थे। फिल्म प्रदर्शन हुनुअघि अन्य फिल्ममा पनि रुचि रहेको बताउने उनी फिल्मले राम्रो व्यापार गर्न नसकेपछि अन्य फिल्ममा देखिएका छैनन् भने उनका अन्य गीत पनि आएका छैनन्।

गायक आनन्द कार्की पनि पछिल्लो समयमा आप्mना गीतको भिडियोमा नायक र मोडलका रूपमा देखिन थालेका छन्। प्रकाश सपूत आफ्ना गीतमार्फत चर्चा साथै विवादमा आइरहने गायक हुन्। बोल माया, मेरो पनि हैन र यो देश? जस्ता गीतमार्फत दर्शकको तारिफ बटुलेका उनी गलबन्दी, पीर तथा पछिल्लोपटक सकम्बरी बोलको गीतमार्फत चर्चा र विवाद दुवै कमाइरहेका छन्। प्रकाशले नारायण रायमाझी निर्देशित फिल्म परदेशी–२ मार्फत अभिनयमा डेब्यु गरेका छन्। कात्तिक ३ गते प्रदर्शन हुुने भनिएको फिल्मले प्रकाशलाई अभिनेताको रूपमा कत्तिको स्थापित गर्छ, त्यो भने फिल्म प्रदर्शनपछि मात्र थाहा हुनेछ।

प्रतिक्रिया दिनुहोस्