युवासंघको आयोजनामा राष्ट्रिय खुल्ला फुटसल

४७ समुह सहभागी, ५० हजार पुरस्कार राशी



काभ्रे । 

युवा संघ नेपाल काभ्रेको आयोजनामा खुल्ला राष्ट्रिय फुटसल प्रतियोगिता शुक्रबार देखि धुलिखेलमा शुरु भएको छ । पुर्व मन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

४७ टिमको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालका विभिन्न स्थानबाट फुटसल प्रतिस्पर्धामा भाग लिएका छन् । युवा संघ अध्यक्ष इश्वरबल्धव सापकोटाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराईने छ भने उप विजेता टिमले २५ हजार प्राप्त गर्नेछ ।

उत्कृष्ट खेलाडीले पनि नगद प्राप्त गर्नेछ । दुई समुहमा विभाजन गरिएका ४७ समूहबाट प्रतिस्पर्धामा उत्कृष्ट भएर छनौट भएका दुई समुह बीच शनिबार दिउसो फाईनल हुनेछ । १५ मिनेटको समय तालिका भित्र टिमले प्रतिस्पर्धी समूहलाई पराजित गर्नु पर्नेछ ।

राष्ट्रिय रेफ्रि रोजन श्रेष्ठ मुख्य रेफ्रिका रुपमा रहेका छन् भने दुई समूहको खेल शुक्रबार विहानबाट शुरु भएको छ । पहिलो खेल अनेरास्ववियु जिल्ला कमिटी र पनौती नगर कमिटी बीच भएको थियो ।

पनौती नगर कमिटीलाई जिल्ला कमिटीले शुन्यका विरुद्ध २ गोल गरेको थियो भने अर्काे समुहमा झिल्को ग्रुप र स्पोर्टस एकेडेमी साँगा ए बीच भएको थियो । युवा संघले गरेको उक्त प्रतियोगिता जिल्लाकै ठुलो प्रतियोगिता हो ।

फुटसलमा यति धेरै समुह सहभागी भएको यो पहिलो भएको युवा संघका सचिव सिवी लामाले बताउनु भयो । विजेताहरुलाई पुर्व मन्त्री गोकुल बास्कोटाले पुरस्कार वितरण गर्नु हुनेछ । यस अघि युवा संघले एमाले जिल्ला कमिटी, प्रेस चौतारी लगायतसँग मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्