गदरको रोजाइ थिइनन् अमिषा



बलिउड अभिनेता सनी देओलको सुपरहिटमध्येको एक फिल्म गदरः एक प्रेम कथाको सिक्वेललाई लिएर उनका प्mयानहरु निकै उत्साहित छन्।

यही बेला उक्त फिल्म भारतका केही हलमा एकपटक फेरि रिलिज गरिएको छ। २२ वर्षपछि सनी र अमिषा पटेलको यो हिट जोडीलाई उक्त फिल्ममा हेरेर दर्शक रमाएका छन्। फिल्मको तारा सिंह र सकिनाको पात्रलाई दर्शकले आज पनि भुल्न सकेका छैनन्। तर, थोरैलाई मात्र थाहा छ कि गदरः एक प्रेम कथाका लागि अमिषा पटेल पहिलो रोजाइ थिइनन्। अनिल शर्माको निर्देशनमा बनेको फिल्मले सबै रेकर्ड तोडिदिएको थियो। फिल्मको दोस्रो सिक्वेल आगामी अगस्टमा रिलिज हुँदैछ। यो सनी देओल र उनले खेल्ने प्रकृतिका फिल्मका दर्शकका लागि कुनै उपहारभन्दा कम छैन। भारतीय सञ्चार माध्यमले जनाएअनुसार रिलिजको दुई दशकपछि पनि यो फिल्मको क्रेज कम भएको छ्रैन।

गदर एक प्रेम कथामा अमिषा सकिना र सनी तारा सिंहको भूमिकामा देखिएका थिए। फिल्ममा अमीषाले सनीको पत्नीको भूमिकामा अभिनय गरेकी थिइन्। फिल्ममा अमिषालाई लिइनुअघि करिब चार सयजनाको अडिसन लिइएको थियो। निर्माताहरुले फिल्मका लागि कतिपय नयाँ अनुहार हेरेका थिए। तैपनि, कसैको चित्त बुझिरहेको थिएन। त्यसकारण निर्देशक अनिल शर्माले अडिसनको सुरुवात गरेका थिए र अन्त्यमा उक्त भूमिका अमिषा पटेलको पोल्टामा परेको थियो।

फिल्ममा सकिनाको भूमिकामा अभिनय गरेपछि अमीषाको फिल्मी करियरले एक नयाँ उडान पाएको थियो। हालै मात्र निर्देशक शर्माले एक अन्तर्वार्तामा उक्त फिल्मको कास्टिङका लागि कति गम्भीर भएर काम गरिएको थियो भन्ने खुलाएका छन्। उनले चार सयजनाको अडिसन लिएको र त्यसबाट पनि चित्त नबुझेपछि कतिपय नायिकाको घरमा पुगेको तर सबैले सो भूमिका अस्वीकार गरेका खुलाएका छन्। उनका अनुसार सकिनाको भूमिकाका लागि पहिलो रोजाइ अमिषा नभएर काजोल थिइन्। तर, काजोलले अन्य प्राजेक्टलाई देखाउँदै गदरमा काम गर्न अस्वीकार गरेकी थिइन्।

सन् २००१ मा सनी, अमिषा र अमरिश पुरी स्टारर गदर रिलिज भएपछि यो सुपरडुपर हिट भएको थियो। २२ वर्षपछि सनी देओलको गदरको सिक्वेल आउँदा पनि उनलाई यसको प्रचार सामग्रीमा पुरानै अन्दाजमा देखाइएको छ। फिल्मलाई लिएर दर्शकका तीव्र प्रतीक्षा देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्