दैनिक ४० हजारले चढ्छन् चीनको ग्रेटवाल



चीन । चीनका विभिन्न शासकहरूले आफ्नो राज्यको सुरक्षाको लागि निर्माण गरेको ग्रेटवाल (विशाल पर्खाल) चीन भ्रमणमा आउने विश्वभरका पर्यटक तथा आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

अन्तरीक्षबाट देखिने विश्वको एक मात्र मानव निर्मित संरचना ग्रेटवाल अवलोकन गर्न विभिन्न मोहडाबाट आन्तरिक एवं बाह्य गरी दैनिक झण्डै ४० हजार जना पुग्ने गरेको बेइजिङका टुरिस्ट गाइड लिनले बताउनुभयो । कोरोना महामारीअघि यो संख्या अझ बढिरहेको उहाँको भनाइ थियो ।

पहिलोपटक ग्रेटवाल भ्रमणमा आउनुभएका उज्ज्वेकिस्तानका डेभरोन जेजेभ यो पर्खाल आफूले सुनेकोभन्दा निक्कै चमत्कारी र आकर्षक लागेको बताउनुभयो ।

लिनका अनुसार ग्रेटवालको मुख्य प्रवेश स्थल पुग्न चीनको राजधानी बेइजिङबाट झण्डै साढे दुई घण्टा बसको यात्रा गर्नुपर्ने हुन्छ । यो यात्रा पहिलेभन्दा अहिले निकै सहज भएको उहाँको भनाइ छ ।

निक्कै आकर्षक र सफा लाग्ने माटो र ढुङ्गाबाट बनेको ग्रेटवाल (विशाल पर्खाल) को निर्माण ईशापूर्व पाँचौं शताब्दीदेखि सोह्रौं शताब्दीको मध्यसम्म विभिन्न शासकहरूले गरेका हुन् ।

किंवदन्तीअनुसार इशापूर्व ६५६ मा चू राज्यका राजा चङले ग्रेटवालको निर्माण थाल्नुभएको हो । यो पर्खाल पूर्वको शानहाई गुचानदेखि पश्चिमको लोपनूरसम्म झण्डै सात हजार किलोमिटरमा फैलिएको छ । यसको सबै शाखाहरू जोड्दा यसको लम्बाइ आठ हजार आठसय किलोमिटरभन्दा बढी हुने बताइन्छ ।

ईशापूर्व ६५६ मा राजा चङले निर्माण शुरू गरेको विशाल पर्खाललाई आठौं शताब्दीमा आईपुग्दा कुई यान र जाहो राज्यहरूले समेत निरन्तरता दिएको भनाइ छ । उनीहरूले शत्रुको तीर र तरवारबाट बच्न विशाल पर्खाल निर्माणलाई निरन्तरता दिएको इतिहासमा उल्लेख छ ।

२२१ वर्ष पूर्व किन साम्राज्य ले स–साना राज्यलाई एकीकृत गरेर विशाल चीन निर्माण गरेपछि विभिन्न शासकहरूले पूर्वमा बनाएको विभिन्न पर्खालहरूलाई मिलाएर एकै पर्खाल बनाई उत्तरी सीमा खडा गरेको र त्यसैलाई अहिले ग्रेटवाल भनिएको टुरिस्ट गाइड लिनले बताउनुभयो । युनेस्कोले सन् १९८७ मा ग्रेटवाललाई विश्व सम्पदा क्षेत्रसमेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्