एनसेल आजियाटा लिमिटेडले हालै विराटनगरको हाटखोला मैदानमा भव्य कन्सर्ट सम्पन्न गरेको छ।
कन्सर्टमा स्थानिय दर्शकले लोकप्रिय कलाकार तथा सांगीतिक समूहको प्रस्तुतिमा गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन हासिल गरे। कन्सर्टमा दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनील पण्डितजस्ता व्याण्ड र गायक गायिकाले आफ्ना प्रस्तुतिका साथ दर्शक झुमाएका थिए। नायिका केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपेको थियो।
सांगीतिक कार्यक्रममा झुम्न पाएका विराटनगरका हजारौं दर्शकको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो। दिउँसो केही गर्मी भए पनि दर्शक अस्मिता अधिकारी र सुनील पण्डितका गीतमा गाउँदै नाचेका थिए। द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकमा ऊर्जा थपिदिएको थियो।
द एलिमेन्ट्सले ऊर्जा, सपनाको मायालु, बिर्सिने हौ किलगायतका आफ्ना हिट गीतका साथ दर्शकलाई संगीतमा डुबाउँदै झुमाएको थियो। गायक शिव परियारले धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले जस्ता लोकप्रिय गीतका साथ विराटनगरबासीलाई नचाएका थिए। त्यस्तै, लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामीजस्ता र्याप गीतले सांगीतिक कार्यक्रम झनै तातिएको थियो भने दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, काली काली हिस्सी परेकी, मायाको डोरीलगायतका चर्चित गीतको प्रस्तुति साथ कन्सर्ट संगीतमय बन्न पुगेको थियो।
रमाऔँ सधंै सँगै भन्ने थिमका साथ सम्पन्न सांगीतिक कार्यक्रमले विराटनगरका ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेकासँग फेसबुक लाइभमार्फत जोडिएर खुसी साटासाट गर्न सफल भएको एनसेलले जनाएको छ। ग्राहक सुविधाका लागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरु पनि राखिएको थियो।
यसअघि, एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरबारमार्गमा सडक महोत्सव पर्पल स्याटरडे भव्यरुपमा सम्पन्न गरेको थियो। अर्थतन्त्र र पर्यटन व्यवसायलाई चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो।
प्रतिक्रिया