ऐश्वर्याको कान्स लुक्स भाइरल



२१ वर्षदेखि कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै आएकी भारतीय सुन्दरी ऐश्वर्या राय बच्चन फ्रान्समा जारी ७६औं कान्स फिल्म फेस्टिभमा आकर्षण र चर्चाको विषय बनेकी छन्।

पूर्व विश्वसुन्दरीसमेत रहेकी भारतीय अभिनेत्री रायले कान्सको रेडकार्पेट नाप्दै गर्दा विश्वका शैली र पहिरनप्रेमीको आँखा उनीतिर परेको छ। सोफी कउचरले डिजाइन गरेको ऐश्वर्याले पहिरिएको चाँदीको पोशाकका साथ ऐश्वर्या कालो हुडमा रेड कार्पेटमा देखिएकी थिइन्।

सामाजिक सञ्जालमा उनको लुक्स भाइरल बन्न पुगेको छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको पहिरनको तुलना गिप्mट र्यापसँग गरेका छन् भने केहीले उनलाई फिल्म कोही मिल गयाको जादूजस्तै देखिएको प्रतिक्रिया जनाएका छन्।

ऐश्वर्या लगातार २१ वर्षदेखि कान्स फिल्म फेस्टिभलमा सहभागी भइरहेकी छन्। उनले सन् २००२ मा कान्समा डेब्यु गरेकी थिइन्। फिल्म देवदासको सफलतापछि उनी पहिलोपटक शाहरुख खान र निर्देशक सञ्जय लीला भन्सालीसँग कान्समा सहभागी भएकी थिइन्।

ह्यारिसन फोर्ड अभिनीत पाँचौं इन्डियाना जोन्स फिल्म इंडियाना जोन्स र द डायल अफ डेस्टिनीको प्रिमियरका क्रममा ऐश्वर्याले रेडकार्पेटमा प्रस्तुत भएकी थिइन्। कान्समा उनी पहिलोपटक देवदासको स्क्रिनिङमा सहभागी भएकी थिइन्। त्यसलगत्तै उनी जुरी सदस्यमा चयन भएकी थिइन्। ऐश्वर्या छोरी आराध्याका साथ कान्समा पुगेको एजेन्सीले जनाएको छ।

यस वर्षको कान्स रेड कार्पेटमा ऐश्वर्याका साथ सारा अली खान, मृणाल ठाकुर, उर्वशी रौतेला, ईशा गुप्ता, मानुषी छिल्लरलगायत बलिउड नायिकाहरु पनि देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्