खिजीदेम्बाको दोस्रो कार्यकालका लागी निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बर्ष अथक प्रयास



ओखलढुंगा ।
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा दोस्रो कार्यकालका लागी जनप्रतिनिधिहरू निर्वाचित भएको आज १ वर्ष पुरा भएको छ ।
यसै अवसरमा आफ्नाे एक वर्षे कार्यकाल पुरा भएको अवसरमा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आज पत्रकार सम्मेलन गरी गाउँपालिकामा वर्ष भरि भएका विकास निर्माणका कामहरूको सार्वजनिक गरेका छन् । अध्यक्ष शेर्पाले सार्वजनिक गरेको प्रगति विवरणमा गाउँपालिकाको समग्र विकासकालागि पालिकाले सडक, ढल, शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युत्, खानेपानी, सिँचाइ लगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरेको देखिन्छ ।
कार्यकालको सुरुवाती वर्षमा जिरो पोईन्ट फलाटे बजार र फलाटे बजार ओखलढुंगाको सडक मर्मतलाई उच्च प्राथमिकतामा राखेर काम गरेको र आधिकांश सडक श्रमदानको माध्यम बाट मर्मत गरिएको अध्यक्ष शेर्पाले बताएका छन् । खिजीदेम्बामा यो वर्ष करिब ३० किलोमिटर नयाँ सडक निर्माण गरिएको र ३५ किलोमिटर सडक मर्मत गरिएको बताइएको छ ।यसै गरी खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयहरूमा मातृभाषाबाट पठनपाठनका लागी ऐन निर्माण गरी राजपत्रमा प्रकाशन गरिएको छ ।
अध्यक्ष शेर्पाले पहिलो एक वर्षको कार्यकालमा पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । खिजीदेम्बामा पर्यटन विकासकालागि ३ हजार ३ सय ५० मिटरको उचाइ भएको देम्बा डाँडामा गल्फ खेलको सफल परीक्षण गरिएको र गल्फ ट्रेकको रुट तयार गरी सो रुटमा ट्रेकिङ सञ्चालनको लागी  ट्रेकिङ व्यवसायीहरू सँग छलफलको तयारी भइरहेको अध्यक्ष शेर्पाले बताएका छन् ।
पर्यटन विकासकै लागी देम्बा डाँडा बाट प्याराग्लाइडिङ गरी कुन कुन स्थानमा ल्यान्डिङ पोईन्टको विकास गर्न सकिन्छ भनेर अध्यानका लागी नेपाल पर्यटन बोर्डबाट बजेट समेत विनियोजन भैसकेको र यो असोज महिनामा काम गर्ने गरी सम्झौता गरिएको पालिका अध्यक्षले बताएका छन् ।
यसै गरी अध्यक्ष शेर्पाले भौतिक पूर्वदार विकास, बिद्युत्, युवा खेलकुद, कला, साहित्य, सामाजिक सुरक्षा, लगायतका क्षेत्रहरूमा गरेका विकासहरूको विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्