चर्च ब्वाइज शीर्ष स्थानमा



काठमाडौं । चर्च ब्वाइज युनाइटेड जारी शहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई २–१ ले हराएको हो । टोलीको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती पाएको उपहार गोल थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

चर्चले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ । १६ खेलमा ३० अंकका साथ चर्च ब्वाइज अगाडी छ । दोस्रो स्थानको जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ । जावलाखेल अघिल्लो दिन हिमालयन शेर्पालाई १–० ले हराएर शीर्ष स्थानमा फर्कियो । तर, चर्च ब्वाइजको जितले जावलाखेललाई दोस्रो स्थानमा पु¥याएको थियो ।

४० औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । बायाँ विंगबाट कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत पोस्टको दिशा दिएका थिए । यो अन्जनको जारी लिगमा व्यक्तिगत पाँचौ गोल थियो ।

आर्मी पराजित

दशरथ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० ले हरायो । एपिएफका जितमा अर्मान्ड बेडम, आवास लामिछाने र कप्तान नवीन लामाले १–१ गोल गरे । यसअघि पहिलो लेगमा पनि एपीएफले आर्मीलाई १–० ले हराएको थियो । यो नतिजापछि एपिएफ २२ अंकसहित छैंटौ स्थानमा उक्लेको छ । आर्मी सातौं स्थानमा झरेको छ । आर्मीको १६ खेलमा २१ अंक छ ।

गोलकर्ता :

१३ गोल—मेसुके ओलोमोउ (खुमलटार)
१० गोल—दीपकराज सिंह ठकुरी (सातदोबाटो), मासोबी (जावलाखेल), ओलावाले आफिज (मच्छिन्द्र), रफिक अमिनु (फ्रेन्ड्स)
७ गोल—अजायी मार्टिन्स (थ्रीस्टार), फोडे फोफाना (जावलाखेल)
६ गोल—संजिव विष्ट (एनआरटी), कोफी कोडु (मनाङ), स्टेफान समीर (खुमलटार), अर्मान्ड बीडोम (एपीएफ)
५ गोल—अन्जन विष्ट (चर्च ब्वाइज), नवयुग श्रेष्ठ (आर्मी), जिलेस्पीजंग कार्की (आर्मी) अमहद हिजाजी (पुलिस)

प्रतिक्रिया दिनुहोस्