भिनुमा छैटौं मिस लिम्बू



यसपालिको मिस लिम्बूको उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन्। १७ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं मिस लिम्बू बन्न सफल भएकी हुन्।

याक्थुङ युथ एसोसिएसन (वाईवाईए) द्वारा शनिबार राजधानीमा आयोजित सम्मान मिस लिम्बू–२०७९ मा पाँचथरकी काजल सेलिङ लिम्बू फस्ट रनर्सअप र धनकुटाकी मुना चेम्जोध्र लिम्बू सेकेन्ड रनर्सअप भएका छन्। विजेता तीनै जनालाई ताज र नगद पुस्कार प्रदान गरिएको छ। शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटर प्राप्त गरेकी छन्। यस्तै, फस्ट रनर्सअप काजलले नगद एक लाखसहित विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेन्ड रनर्सअप मुना चेम्जोध्रले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्।

कार्यक्रममा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, अभिनेता सुनील थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा. बेन सुब्बा, पूर्व मिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायक रहेका थिए। प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्डसमेत प्रदान गरिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बू, गायक कञ्चन थलङलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्