सम्झनामा वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार



यो रेडियो नेपाल हो कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् । यो कर्णप्रिय स्वरका धनी आदरणीय व्यक्तित्व, देश विदेशमा समेत उत्तिकै ख्याति कमाउनुभएकी नेपालीहरुको मनभित्र बर्षौ वर्षदेखि बस्न सफल लोकप्रिय समाचार वाचक हुनुहुन्थ्यो। उहाँको जन्म बनेपामा भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगसँग पौठेजोरी खेल्दै क्यान्सरलाई जितेर रेडियो कार्यक्रमलाई निरन्तरता दिँदै आउनुभएको थियो । उहाँको यही चैत्र ९ गते बिहीबार राती निधन हुनुले सञ्चार जगतमा ठूलो क्षति पुगेको छ ।

नेपाली पत्रकारिता जगतको एउटा धरोहरका रुपमा चिरपरिचित आदरयोग्य व्यक्तित्व कृष्णा दिदी सबै नेपालीका आदरणीय हुनुहुन्थ्यो । उहाँको सुरिलो र छन्द मिलेको स्वरमा समाचार सुनिरहँदा लाग्थ्यो अझै सुनिरहूँ । उहाँले वाचन गर्नुभएको समाचार जति पटक सुने पनि अझै सुन्न पाए हुन्थ्यो भन्ने चाहना हुँदाहुँदै समयको पाबन्दीले आजको यो समाचार यही सकियो बिदा दिनुहोस् नमस्कार नभनुन्जेल सुनिरहने श्रोता कमाउन सफल नेपाली पत्रकारिता जगतका वरिष्ठ समाचार वाचक उहाँ नै हुनुहुन्थ्यो ।

उहाँको स्वर उहाँ ८६ वर्षको हुँदा सम्म पनि उस्तै कर्णप्रिय थियो । उहाँले यति लामो समय ६२ वर्ष सम्म अनवरत रुपमा रेडियोकर्मी भएर आफ्नो पत्रकारिता पेसा मार्फत ज्ञानको अभावमा अध्यारोपमा रहेका नेपालका दुर्गम होस या सुगममा रहेका कुना कुनामा सुरिलो स्वरकै माध्यमबाट उज्यालो छर्दै आउनुभएको थियो । अनवरत रेडियो मार्फत समाचार मात्र भन्ने नभै स्वास्थ्य, शिक्षा, कला संस्कृतिको समेत उत्तिकै प्राथमिकतामा राखी प्रस्तुत गर्दै आउनुभएको थियो । गए राती उहाँको निधन भएको खबरले अत्यन्तै दुःख लाग्नुका साथै उहाँको कर्णप्रिय स्वर अब रेकर्डमा मात्र सीमित भएको छ ।

स्वरकी धनी वरिष्ठ पत्रकार ताम्राकार क्यान्सरलाई पनि जित्न सफल सञ्चारकर्मी हुनुहुन्थ्यो । उहाँ क्यान्सर विजेता रेडियो धर्मी ताम्राकार रेडियो नेपालबाट उमेर हदका कारण अवकाश लिनुभए पनि आफ्नो कर्मलाई इमेज एफएममा लोकप्रिय कार्यक्रम उज्यालो चलाउनुहुन्थ्यो । क्यान्सर रोगबाट कसरी बच्ने, आँखा दान कहो र कसरी गर्ने लगायतका संगित, मनोरञ्जन समेतका कार्यक्रम संचालन गर्दै आउनुभएको थियो । कृष्णा ताम्राकार नेपालको प्रसारण पत्रकारितामा बेजोड स्वर र विशुद्ध उच्चारणकी धनी लोकप्रिय समाचार वाचक हुनुहुन्थ्यो ।

वरिष्ठ सञ्चारकर्मी अग्रज दिदी ताम्राकारका यस्ता काम र अठोट देखि नयाँ पुस्तालाई थप प्रेरणा मिलेकै छ । उहाँ जस्ता आत्मबल भएका देश र समाजको विकासका लागि महत्त्वपूर्ण योगदान गर्नुहुने व्यक्तिसँगै उभिएर ४ वर्ष अघि आफूले पनि सम्मान थाप्ने अवसर वरिष्ठ साहित्यकार मोहन दुवालले जुटाई दिनुभई लामो समय देखिको कृष्णा दिदीसँग आमन्ने सामन्ने भएर आफ्ना जिज्ञासा मेटाउने अवसर मिलेको थियो ।

जति बेला कलम र स्वरले समाजका अगाडि स्थापित हुनु निकै ठूलो चुनौतीको विषय थियो । त्यही समयमा श्रोताहरूको मनभित्र बलियो घर बनाएर प्रवेश गर्न सफल सुरिलो र स्पष्ट स्वरका धनी कृष्णा ताम्राकार २०१८ साल देखि नै रेडियो नेपालमा समाचार वाचकका रुपमा स्थापित हुनुभयो । उहाँको स्वर सुन्ने बित्तिकै बालबालिका देखि युवा, प्रौढ सबै रेडियोको नजिकै बसेर ध्यान पूर्वक सुन्ने गर्दथे । म पनि बाल्यकाल देखिनै उहाँको निकै प्रशंसक र श्रोता भएकै कारण उहाँसँग भेट्ने र देख्ने चाहना राख्नु स्वभाविकै थियो । कृष्णा दिदीसँग २०५१ सालमा रेडियो नेपालमा भेट्न पाउँदाको खुसी अहिले सम्म मनमा ताजै छ । यसपछिका छिटपुट भेटले उहाँसँग अझ नजिकिने चाहना तीव्र रहेकै थियो ।

यो चाहनालाई प्रतिभा सम्मान गुठीले २०७५ साल असोज महिनामा बनेपामा कृष्णा ताम्राकारका साथ म र सहकर्मी सृजना दुवाललाई एकै थलोमा सम्मान कार्यक्रमको आयोजना गरेर पुर्नताजकि गराइदियो । तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटा र कामना प्रकाशनका संस्थापक तथा वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठले पुरस्कार तथा सम्मान गर्नुभएको थियो । सम्मान गर्ने वरिष्ठ पत्रकार श्रेष्ठ र सम्मानित हुने वरिष्ठ समाचार वाचक कृष्णा दिदी मृत्युले निकै दुःख लाग्नुका साथै मर्माहत बनाएको छ ।

कृष्णा ताम्राकार काभ्रे जिल्लाको मात्र नभै देश विदेशकै लागि होनहार व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ नेपाली पत्रकारितालाई नै पेसाका रुपमा अपनाएर आजका दिन सम्म उमेरले ८६ वर्ष पुगी सक्दा पनि उत्तिकै सक्रिय र ऊर्जाशील भैरहनुले पत्रकारिता पेसा प्रतिको समाजको हेराई र पत्रकार महिलाहरुको छनोटको बाटोलाई अझ खुल्ला गरिदियो । पत्रकारिता उद्योग व्यवसायमा झै लगानी गर्ने भन्दा पनि लगनशीलता, इमानदारिता र निरन्तरताले खारिने पेसा हो ।

यो पेसामा धन भन्दा पनि दृढ सङ्कल्प र प्रतिबद्धताको खाँचो हुने भएकै कारण महिलाहरुलाई पेसागत रुपमा अपनाउन कठिनाइ नभएको भने होइन । तर पनि गरे सम्भव छ महिलाहरु त्यति कमजोर छैनन् र पत्रकारितालाई पेसागत रुपमा अपनाएर निरन्तरता दिन सक्छन् भन्ने उदाहरणका रुपमा कृष्णा दिदी र उहाँको अनुसरण गर्न पाउने भाग्यमानी थुप्र पत्रकार महिलाहरुको उदय भयो तर आज पत्रकारिताका योद्धा कृष्णा दिदीको स्वर्गारोहले पत्रकारिता जगत उहाँको सम्झनामा शोकमा डुबेको छ ।

पत्रकार भनेका जहिले पनि सत्ता पक्ष हैन प्रतिपक्षको भूमिकामा काम गरिरहने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ ।  पत्रकारिताको धर्म, मर्म नै राष्ट्रियता र जनताका पक्षमा दरो खम्बाका रुपमा उभिने हो । यस्ता कार्यमा देशको आधा हिंसा ओगटेका महिलाहरु पनि उत्तिकै जिम्मेवार हुनुपर्छ र सक्रिय भएर लाग्नुपर्छ भन्ने कुरालाई कृष्णा ताम्राकारले ८६ वर्षको उमेर पुगिसक्दा आफै क्यान्सर विजेता भएर पनि निरन्तरता दिईरहनुलाई महत्त्वपूर्ण पाठका रुपमा सिक्दै पत्रकारिता पेसामा दृढ संकल्पका साथ लागि पर्ने पत्रकार महिलाहरुको वृद्धि भएकै छ ।

पत्रकारिताका बारेमा समाजलाई बुझाउनै गाह्रो अवस्थामा महिलाले पनि पेसागत रुपमै पत्रकारिता पेसा अपनाउन सक्छन् भनेर उदाहरण बनी देखाउनुहुने कृष्णा ताम्राकार नेपाली पत्रकारिताका क्षेत्रमा महिला पत्रकारहरुको मार्ग निर्देशक गुरु नै हुनुहुन्थ्यो । पत्रकारिताका माध्यमबाट उहाँले निरन्तरता दिँदै अध्यारोपमा रहेका नेपालीहरुको आँखा खोल्न सेतुको काम गरिरहनुभयो ।

प्रतिक्रिया दिनुहोस्