आँधीखोला संरक्षणको अभियान



 स्याङ्जा । 

स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्न थालिएको छ । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ ।

प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय संघसंस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियानको गत शनिबार १२ औँ हप्ता पूरा भयो ।

यसअघि विभिन्न संघसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन् । पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह पनि घट्दै गएको छ । आँधीखोला स्याङ्जाको सभ्यता र पहिचान भएकाले यसलाई जोगाइराख्नु दायित्व सम्झेर संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गरिएको आँधीखोला संरक्षण सरोकार मञ्चका संयोजक प्रकाश अर्याल बताउनुहुन्छ । पानीका मुहान तथा प्राकृतिक स्रोत साधनको दोहन हुन नदिनका लागि सचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश दिनका लागि अभियान थालेको उहाँले बताउनुभयो । सहायक खोलाहरुको मुहान सुक्दै जाँदा आँधीखोलाको अस्तित्व सङ्कटमा पर्ने खतरा बढेको हो ।

बजारका ढलहरु सोझै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएको छ । समयमै यसको संरक्षणमा ध्यान जानुपर्नेमा आवाज उठ्न थालेको छ । “हाम्रो सभ्यतासँग जोडिएको आँधीखोलामा ढल तथा फोहरमैला नफाल्नका लागि सकारात्मक सन्देश दिनका लागि खोलामै पुगेर सरसफाई गर्दै आएका छौँ”, संयोजक अर्यालले भन्नुभयो, “सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियानमा विस्तारै सहभागी थपिँदै हुनुहुन्छ, १२ औँ हप्ता सकियो, अब पनि यो अभियान निरन्तर चल्नेछ ।” सामाजिक सञ्जाल तथा स्थानीय रेडियो, पत्रपत्रिकाको माध्यमबाट सूचना प्रवाह गरी अभियानमा सहभागी बनाउने गरिएको छ ।

आँधीखोला सरसफाइ अभियान प्रभावकारी बन्दै अगाडि बढेको अर्याल दाबी गर्नुहुन्छ । वालिङमा जस्तै अन्य पालिकामा पनि संरक्षण र सरसफाइलाई अभियानकै रुपमा अगाडि बढाउनु आवश्यक छ ।

यता समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता सङ्कटमा पर्नसक्ने भएकाले सरोकारवाला पक्षसहित नागरिकलाई सचेत बनाउँदै चासो दिने बनाउनका लागि नेपाल नदी संरक्षण संस्थाले वालिङ नगरपालिकालाई ज्ञापनपत्र पनि बुझाएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकास्थित ‘अन्धाअन्धी दह’ बाट उत्पत्ति भएको आँधीखोला जिल्लाको मध्यभागबाट बगेको छ । यो खोला आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका हुँदै कालीगण्डकी गाउँपालिकाको मिर्मिमा पुगेर कालीगण्डकीमा मिसिन्छ ।

प्रतिक्रिया दिनुहोस्