निर्माणाधीन सडकमा ‘वाच डग’ बनेका चुवाका युवा



पर्वत। 

जिल्लाको कुश्मा नगरपालिका–८ चुवाका लक्ष्मण पौडेल, नीरव क्षेत्री, ज्ञानबहादुर केसी, कुलप्रसाद पोखरेल पछिल्लो एक महिनायता निर्माणाधीन सडकमा नै भेटिनुहुन्छ ।  कुश्मा नगरपालिका–३ दुर्लुङ सोती सडक खण्ड अन्तर्गत चुवामा रहेको स्वास्थ्य चौकीदेखि चुवामै रहेको मध्य पहाडी लोक मार्ग जोड्ने सडकको ढलान कार्य चलिरहेको छ।

यी युवाहरु कहिले आलोपालो गरेर त कहिले समूहमै बसेर ढलानको काम भइरहेको ठाउँमा भइरहेका हरेक कामको नियमित रुपमा अवलोकन गरिरहेका छन्। उनीहरुको यो कामलाई ‘गुणस्तरका लागि युवाको लौरे पालो’ को रुपमा हेरिएको छ। उनीहरुको साथमा लौरे पालो नभए पनि उनीहरुले दैनिक रुपमा गरिरहेको अवलोकनको काम ‘लौरे पालो’ जस्तो नै छ। उनीहरुले निभाएको ‘वाच डग’ को भूमिकाले काम फटाफट र गुणस्तरीय भएको छ।

विगतमा भएका सार्वजनिक निर्माणका काम सम्पन्न भएको एक–डेढ वर्षमै भत्किने र उप्किने गरेपछि निर्माण पक्षलाई खबरदारी गरेर गुणस्तरीय निर्माणको लागि आफूहरुले नियमित रुपमा निर्माणको काम हेरिरहेको लक्ष्मण शर्माले बताउनुभयो ।  पूर्वाधार विकास कार्यालय मार्फत आएको ३५ लाख रुपैयाँले सडक ढलानको काम भएको र उपभोक्ता समितिमार्फत काम गर्नका लागि पुन २० लाख रुपैयाँ बजेट आएको उहाँको भनाइ छ। ‘मिक्स्चरमा हेर्नुपर्छ, ढलान गर्ने बेलामा ६ इन्च पुग्यो की नाइँ? रड बाँधेको छ की छैन? त्यो रड पहिले भने अनुसार  १० कै होइन हेर्नुपर्छ। आँखा झिमिक्क गरे त बिग्रने जोखिम हुन्छ।’ उहाँले भन्नुभयो, ‘जिल्लावासीहरुमा हामीले दिन खोजेको सन्देश के हो भने उही बजेटले पनि यत्तिको गुणस्तरको काम गर्न सकिँदो रहेछ ।’ उपभोक्ताले ध्यान दिँदा साथ त्यसको गुणस्तरमा २०–२५ प्रतिशत वृद्धि भएको उहाँको छ ।

एउटा काम गरेपछि डेढ दुई वर्ष पनि नटिक्नुले राज्यको रकमको दोहन भइरहेको भन्दै चुवाका युवाहरुले सार्वजनिक निर्माणका कामहरु पनि आफूहरुको व्यक्तिगत सम्पत्तिको महत्त्वकै बराबरको रहेको उपभोक्ताको भनाई छ । चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी ले युवाहरुको कामले सडक निर्माणको काम समयमै सकिनुका साथै तोकिएको परिमाण र गुणस्तर अनुसार नै सडक निर्माण भएको बताउनुहुन्छ ।  उनीहरुले जस्तै हरेक टोल हुँदै जिल्ला र देशैभरका नागरिकहरु खटिएर निर्माणको काममा चासो दिन सके निर्माण पूरा भइसक्दा भत्किएर सकिने पूर्वाधार हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको  भनाइ छ। बिस्तारै वडाका अरु नागरिकले पनि यो सिको गरेर आफ्ना ठाउँमा भइरहेका कामलाई गुणस्तरीय बनाउन जागरुक बन्नेमा आफू आसावादी रहेको अध्यक्ष केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्